अर्थ

हटारु हिँड्ने बाटोले फेरेको काँचुली: फराकिलो र पक्की सडक

घर छेउमै फराकिलो पक्की सडकमा गुडेका मोटरसाइकल र अटो देख्दा ८९ वर्षीय गगनसिंह ओली प्रफुल्लित छन्। यो दृश्य उनका लागि कुनै सपना जस्तै हो। 

‘पाँच दशकअघि यो ठाउँमा यस्तो होला भनेर सपनामा पनि देख्न सकिन्नथ्यो,’ गगनसिंह भन्छन्, ‘बाटो थिएन, केबल हिलो, धुलो र बाध्यता मात्र थियो।’

गगनसिंह एउटा यस्तो साक्षी पुस्ताका प्रतिनिधि हुन्, जसले नुनको लागि हटारु बनेर हाट हिँड्ने बाध्यता भोगे, भेडादेखि खच्चरले बोकेको नुन पनि खाए र अहिले पक्की सडकको युगको सहज जिन्दगी पनि भोग्दै छन्।  गगनसिंहका लागि हाट आउनु केवल व्यापार वा किनमेलको कुरा थिएन, त्यो त संघर्षको अर्को नाम थियो । गगनसिंहको पुर्ख्यौली थलो सल्यानबाट खडकबार आइपुग्नै दुई दिन लाग्थ्यो। त्यसपछि अर्को दिन नेपालगन्ज पुगेर सामान बोकेर फर्किनु पर्थ्यो। कहिलेकाहीँ बाटैमा थाकेर सुस्ताउनुपर्ने, कहिले कसो भारीको कारण लडे पनि उठ्नुपर्ने अवस्था हुन्थ्यो ।  ‘नआई रहन मिल्दैनथ्यो, आउन भने मन लाग्दैनथ्यो,’ उनी भन्छन्।

सहज जीवनको खोजीमा पाँच दशकअघि उनी सल्यानको निगालपानी छाडेर खडकबारमा झरेका थिए। ‘त्यति बेला यो गाउँ सुनसान थियो, घर औँलामा गन्न सकिन्थे, बाटोको त के कुरा गर्नु,’ गगनसिंह स्मरण गर्छन्। नेपालगन्ज जाने वा फर्कने बाटोमा पैदल यात्रुहरूको दुःख झन् असह्य हुन्थ्यो । बर्खामा कम्मरसम्म हिलो, सुख्खा समयमा नाक मुख बन्द हुने गरी धुलो, अनि बिचबिचमा खाल्डाखुल्डी। बाटोको यस्तै हाल हुन्थ्यो। 

अहिले भने त्यही खडकबारको स्वरूप फेरिएको छ। कोहलपुर–१२ चप्परगौडीबाट जोडिएको पक्की सडक उत्तरतर्फ लहरिँदै दौडिएको छ। त्यही सडक गगनसिंहको घर छेउसम्म आइपुगेको छ। ‘पक्की सडकसँग अटो, मोटरसाइकल वा ट्याक्टर गाउँमै आउँछन्। सामान किन्न अहिले हटारु हिँड्नु पर्दैन, बजार नै घरमा पुगेजस्तो लाग्छ। बिरामी हुँदा सहजै अस्पताल जान सकिन्छ,’ गगनसिंह खुसी हुँदै सुनाउँछन्। 

‘एउटै जीवनमा यती धेरै कुरा देख्न पाइयो। अचम्म लाग्छ, भगवान्को धन्य होस्,’ उनी भन्छन्। एउटै ठाउँमा कहिल्यै समाप्त नहुने बाध्यता थियो, अहिले सुविधा र सम्भावना भेटिन्छ। उनी भन्छन्, ‘यो परिवर्तन त सपना जस्तै लाग्छ । हटारु हिँड्ने दिन देखियो, अटो घरमै आइपुग्ने दिन पनि देखियो । यही हो जिन्दगीको ठुलो फल।’

उनका आँखामा सडक मात्र देखिँदैन, त्यससँगै आफ्नो जीवनयात्रा पनि देखिन्छ। जसमा दुःख छ, संघर्ष छ, अनि अहिले सहजता र विकासको आनन्द छ। यही अन्तरालले खडकबारलाई मात्र होइन, गगनसिंहको सम्पूर्ण पुस्तालाई दुई युगका प्रत्यक्ष साक्षी बनाइदिएको छ। 

गाउँको मुहार फेरिएको कुरा स्थानीय गंगराम डाँगी पनि स्विकार्छन्। उनी भन्छन्, ‘पहिले गाउँ आउनै डर लाग्थ्यो। अहिले त सजिलै गाडीमा चढेर आउन जान मिल्छ।’ अर्का स्थानीय रामबहादुर ओली थप्छन्, ‘सडक बनेपछि गाउँ मात्रै होइन, हाम्रो जीवनशैली नै बदलिएको छ।’

खडकबारको यस रूपान्तरणले गाउँलेहरूको जीवनमा ठुलो प्रभाव पारेको छ। पहिले बाटोको पीडाले गाँस, बास र व्यापार सबै प्रभावित हुन्थ्यो। अहिले भने सहज यातायातले गाउँलाई बजारसँग जोडिदिएको छ। स्थानीय उत्पादन सहजै बजारसम्म पुग्छन् भने आवश्यक सामग्री पनि घरमै ल्याउन सकिन्छ। जुन सडक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलले दुई करोड ८३ लाख २५ हजार सात सय ४४ रुपैयाँमा यो सडक निर्माण गरेको हो।

बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार खड्कबारसम्म फैलिएको छ, जसले यस गाउँलाई पर्यटकीय दृष्टिले विशेष बनाएको छ। साना ठुला हात्तीका गतिविधि र प्राकृतिक सुन्दरताले पर्यटकको आकर्षण बढाउँछ। यही गाउँ कोहलपुर–घुइँयाबारी–सल्यान सडक खण्डको मुख्य हिस्सा हो, जसले यस क्षेत्रलाई प्रदेशका अन्य जिल्लासँग जोड्ने महत्त्वपूर्ण मार्गको रूपमा चिनाउँछ। यदि यो सडक पूरा निर्माण भयो भने सल्यानसम्म पुग्ने यात्रा सहज, छिटो र सुरक्षित हुनेछ। 

खड्कवारबाट करिब ११ किलोमिटरको दुरीमा पर्ने घुइँयाबारी सल्यान जिल्लामा पर्छ । यद्यपि सल्यानतर्फ घुइँयाबारीसम्म सडक पुगिसकेको छ, तर खड्कवार–घुइँयाबारी खण्ड अझै अपूर्ण छ । यसैले स्थानीय बासिन्दा लामो समयदेखि सडक निर्माणको माग गर्दै आएका छन्।

प्रकाशित: १९ आश्विन २०८२ १८:१० आइतबार