अर्थ

सबैभन्दा बढी जलविद्युत् उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा

महाकाली, सेती र कर्णाली तीन ठूला र अन्य कैयौं नदीनाला रहेको सुदूरपश्चिम प्रदेश जलस्रोतका दृष्टिले सम्पन्न छ। देशभरिको कुल उत्पादन क्षमताको एक तिहाइ विद्युत् उत्पादन गर्ने क्षमता सुदूरपश्चिम प्रदेशमा छ। विभिन्न अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशमा ३४ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन हुने क्षमता छ। यो भनेको देशभरि उत्पादन हुने विद्युत् क्षमताको झन्डै एक तिहाइ हो। ‘देशभरिको कुल विद्युत् उत्पादन क्षमतामध्ये एक तिहाइ विद्युत् उत्पादन क्षमता सुदूरपश्चिम प्रदेशमा रहेको छ’, सुदूर प्रदेश सरकार नीति योजना आयोगका सदस्य नृपबहादुर सुनारले भने। विभिन्न अध्ययनको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ३४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने क्षमता रहेको उनको भनाइ छ।

१७७ मेगावाट मात्र उत्पादन

दार्चुला, बझाङ र डोटी गरी तीन जिल्लामा विद्युत् निर्माणका ११ आयोजना सम्पन्न भैसकेका छन्। यी आयोजना बाट १७६.९२ मेगावाट बिजुली उत्पादन भएर राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिसकिएको उनले बताए।

सबैभन्दा बढी दार्चुलामा पाँच आयोजना सम्पन्न भएर १०६ मेगावाट विद्युत् उत्पादन भएको छ भने बझाङमा चार आयोजना सम्पन्न भई ६६ मेगावाट र डोटीमा दुई आयोजना सम्पन्न भई पाँच मेगावाट विद्युत् उत्पादन भइसकेको उनको भनाइ छ।

दुई ठूला आयोजना कर्णाली चिसापानी र पञ्चेश्वर जलविद्युत् आयोजनालाई छाड्दा पनि सुदूरपश्चिम प्रदेशमा १८ हजार १४९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको अध्ययनबाट देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिव सुमन जोशीले बताइन्। ‘अध्ययनले सुदूरपश्चिममा १८ हजार १४९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको तथ्यांक छ। यसमा दुई ठूला आयोजना कर्णाली चिसापानी र पञ्चेश्वर जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको क्षमता समावेश गरिएको छैन’, उनले भनिन्।  

कर्णाली चिसापानी आयोजनाबाट १० हजार आठ सय मेगावाट, पञ्चेश्वर परियोजनाबाट पाँच हजार ६ सय मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ। यी पनि जोड्दा ३४ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन क्षमता रहेको हुने उनले बताइन्।

सुदूरपश्चिम प्रदेशमा महाकाली, सेती, कर्णाली ठूला नदी छन् भने चमेलिया, बुढीगंगा, कालंगा लगायतका नदीहरू पनि विद्युत् उत्पादनका लागि संभावनायुक्त मानिन्छ।

उत्पादन १ प्रतिशतभन्दा कम

३४ हजार मेगावाट विद्युत् उत्पादन रहेको यस प्रदेशमा झन्डै १७७ मेगाघाट विद्युत् मात्र उत्पादन भएको छ। यो उत्पादन क्षमताको एक प्रतिशतभन्दा पनि न्यून हो।

देशभरिमा करिब चार हजार एक सय मेगावाट विद्युत् उत्पादन हुने गर्छ। यसको तुलनामा पनि सुदूरपश्चिममा उत्पादन हुने हिस्सा अत्यन्त न्यून हो।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा सुदूरपश्चिमको आर्थिक विकासका लागि धेरै संभावना भएको क्षेत्र जलस्रोत भएको बताउँछन्। राज्यको ठोस नीति र लगानीको अभावमा सुदूरपश्चिममा विद्युत् उत्पादन क्षमता धेरै भए पनि उत्पादन न्यून भएको उनको भनाइ छ। ‘सुदूरपश्चिममा ३४, ३५ हजार विद्युत् उत्पादनको क्षमता छ तर राज्यको ठोस नीति र लगानी नहुँदा उत्पादन न्यून छ’, उनले भने, ‘विद्युत् उत्पादन बढाउन सके रोजगारी सिर्जनासँगै आर्थिक विकासमा कायापलट हुन सक्छ।’

सुदूरपश्चिम सरकारले समानुपातिक बजेट विनियोजन नगरेकाले संभावना धेरै भएर पनि पछाडि परेको उनको भनाइ छ। सरकार र निजी क्षेत्रको साझेदारीमा सुदूरपश्चिममा विद्युत् आयोजना निर्माण गर्न सकिने उनी बताउँछन्।

विद्युत् उत्पादन बढाएर आफूले खपत गरेर बचेको विद्युत् भारत र चीन दुवै देशमा बेच्न सकिने उनको भनाइ छ। किनभने सुदूरपश्चिमबाट भारतको उत्तर खण्ड र उत्तर प्रदेशलगायतका राज्य नजिक छन्। यहाँबाट भारतमा विद्युत् निर्यात गर्न सबैभन्दा छोटो दूरीमा पर्छ। अन्तरदेशीय प्रसारण लाइन पनि कम लागतमा बनाउन सकिने विज्ञहरू बताउँछन्।

चार दशकदेखि बन्ने चर्चामा रहेको ७५० मेगाघाटको पश्चिम सेती आयोजना अझैसम्म निर्माण हुन सकेको छैन। यसैगरी पञ्चेश्वर जलविद्युत् परियोजना र कर्णाली चिसापानी परियोजना चर्चामै सीमित छन्। यस प्रदेशका ठूला परियोजना बनाउन सके सुदूरपश्चिम प्रदेश मात्र नभई देशलाई नै आर्थिक रूपमा कायापलट गर्न सकिने देखिन्छ।

प्रकाशित: २४ असार २०८३ ११:१९ बुधबार