सरकारले ६ वर्षपछि सडक प्रयोग गरेबापत पुनः सडक दस्तुर (पट्के दस्तुर) उठाउने नियम ब्युँझाएको छ। उक्त नियम गत मंसिर १ गतेदेखि एक ठाउँमा लागु गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक बोर्ड नेपालले टोल ट्याक्स (सडक दस्तुर) उठाउन सुरु गरेको हो।
बोर्डले मंसिर १ गतेबाट २९ किलोमिटर लम्बाइ दूरी रहेको भैरहवा भूमही सडकबाट सडक दस्तुर उठाउन थालेको छ। उक्त सडक प्रयोग गरेबापत बोर्डले ठूला सवारी साधनको हकमा ३० रुपैयाँ र मझौला तथा साना सवारी साधनको हकमा २० रुपैयाँ सडक दस्तुर उठाउन सुरु गरिएको हो। सडक दस्तुर उठाउन उक्त सडकमा टोल गेट बनाइएको छ।
बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार हाल उक्त सडक प्रयोग गरेबापत दैनिक ७५ हजारदेखि ८० हजार रुपैयाँ उठ्ने गरेको छ।
नियम अनुसार सडक दस्तुरबाट उठेको कुल पैसाको दुई तिहाइ रकम सम्बन्धित सडकको मर्मत, सम्भार, खाल्डाखुल्डी पुर्न र सडककै काममा प्रयोग हुने छ भने एक तिहाइ रकम बोर्डको कोषमा जाने छ।
‘सामान्यता यही नियम हो तर सडक मर्मत गर्न दुई तिहाइ शुल्कबाट उठेको रकमले पनि पुगेन भने हामीले बोर्डबाट पैसा पठाउँछौं’, केसीले भने, ‘अब सडक राम्रो बनोस्, खाल्डाखुल्डी नदेखियोस् र १० लिटर पेट्रोल लाग्ने ठाउँमा पाँच लिटर पेट्रोलले पुगोस् भन्ने हाम्रो मान्यता हो।’
एक पटक बनिसकेका सडक खाल्डाखुल्डीरहित होउन र सडक राम्रो होस् भन्ने उद्देश्यले दस्तुर उठाउन सुरु गरिएको केसीले बताए।
उनका अनुसार पूर्णतः डिजिटल माध्यमबाट दस्तुर उठाउने गरिएको छ। त्यसैले सडक दस्तुर उठाउन राखिएका गेट पूर्णतः डिजिटल हुने छन्।
‘सबै काम डिजिटल माध्यबाट हुनेछ। शुल्क उठाएबापत हामीले रसिद दिँदैनौं’, केसीले भने।
उनका अनुसार अब केही दिनमै मुग्लिन–पोखरा खण्ड र नारायणघाट–बुटवल खण्डमा सडक दस्तुर उठाउने तयारी भएको छ।
‘मुग्लिन–पोखरा खण्डको काम करिब–करिब पूरा भएको छ भने नारायणघाट–बुटवल खण्डमा पनि काम सकिनै लागेको छ। त्यसैले यी दुई खण्डमा तत्कालै सडक दस्तुर उठाउने हाम्रो तयारी हो’, केसीले भने।
मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रालयले देशभरि २२ वटा सडकबाट तत्काल सडक दस्तुर उठाउने तयारी भएको छ।
सडक दस्तुर उठाउन भौतिक पूर्वाधार मन्त्रालयले सडक दस्तुर उठाउने (कार्यविधि) नियमावली २०८१ पास गरिसकेको छ भने नागढुंगा सुरुङमार्गमा प्रवेश गर्ने सवारी साधनको दस्तुरसमेत निर्धारण गरिएको छ।
मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सडक प्रयोग गरेबापत दस्तुर उठाउने नियम स्तरोन्नति भएका अन्य सडकहरूमा पनि क्रमशः लागु गरिँदै छ।
अहिले नागढुंगा–मुग्लिन, लगायत विभिन्न ठाउँमा स्तरोन्नतिको काम भइरहेको छ। ती सडकहरूको स्तरोन्नतिको काम पूरा हुने बित्तिकै त्यहाँ पनि सडक दस्तुर उठाउन सुरु गरिने मन्त्रालयको भनाइ छ।
सडक प्रयोग गरेबापत दस्तुर (पटके दस्तुर) उठाउने नियम कोरना संक्रमण सुरु हुनुअघि २०७६ सालसम्म लागु गरिएको थियो। त्यतिबेला नौबिसे, मुग्लिन, गैंडाकोट लगायतका ठाउँमा पट्के दस्तुर उठाउने गरिएको थियो। कोरानाको संक्रमण सुरु भएपछि पटके दस्तुर उठाउने काम बन्द गरिएको थियो।
मन्त्रालयका अनुसार नागढुंगा सुरुङमार्ग सञ्चालन भए त्यहाँ प्रवेश गर्ने सवारी साधनलाई ५० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म सडक दस्तुर शुल्क उठाउने कार्यविधि पास भइसकेको छ।
अब केही समयमै नागढुंगा सुरुङ मार्ग सञ्चालनमा आउने भएको छ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहालकै पालामा सडक दस्तुर उठाउने नियम व्युँत्याउने निर्णय गरिएको थियो।
प्रकाशित: २१ मंसिर २०८२ २१:५५ आइतबार



