अर्थ

पर्यटक भित्र्याउने बहाना ‘मनसुन’

यो बेला गतिविधि गर्ने हो भने मनसुनमा रमाउने पर्यटक भित्र्याउन सकिन्छः व्यावसायी

नेपालको मनसुन अनुभव बटुल्न आएका भारतीय पर्यटकको समूह। तस्बिरः नागरिक

केहीदिन अघि भारतको पटनाबाट भारतीय पर्यटकको एउटा समूह ‘मनसुन कार र्याली’ नाराका साथ घुमफिरमा निस्कियो। नेपालका विभिन्न क्षेत्र घुम्दै उनीहरु पोखरा आइपुगे। विभिन्न १५ वटा सवारीमा आएका ३५ जना ती भारतीय पर्यटक भारतको पटनाबाट वीरगञ्ज हुँदै नेपाल प्रवेश गरेका थिए।  

भारतीय पर्यटकको त्यो समूहमा त्यहाँका व्यापारी सहित विभिन्न क्षेत्रका अगुवा थिए। भारतीय पर्यटकको पोखरामा पर्याप्त आकर्षण रहेपनि यो समूहको भने फरक उद्देश्य थियो। मनसुनको यो सिजनमा नेपाली हरियाली डाँडाकाँडा नियाल्नु, वर्षाले बढेका खोलानाला, छाँगा छहराको दृष्यावलोकन गर्ने, सुरक्षित तर कच्ची सडकमा गाडी चलाइएर अनुभव बटुल्ने लगायतका उद्देश्य सहित भारतीयको त्यो समूह पोखरा आएको थियो। उनीहरु पोखरामा मात्र घुमिफर गरेनन्, पर्वतको कुश्मा समेत पुगेर त्यहाँका साहसिक पर्यटकीय गतिविधिको अनुभव पनि बटुले।  

पोखरा भित्रैका डाँडाकाँडाका कच्ची सडकमा गाडी चढेर हुँइकिँदै फरक अनुभव पनि ती भारतीय पाहुनाले बटुले। ‘वर्षायाममा नेपालका खोलानाला, हरियाली सडक, वन जंगलको यात्रा निकै नै रोमाञ्चक हुन्छ। बाढी पहिरोको जोखिम नभएको क्षेत्रमा घुम्नका लागि उनीहरु आएका थिए,’ भारतीय पर्यटकको त्यो समूहलाई संयोजना गरेका पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापाले भने, ‘पोखराको पर्यटन क्षेत्रले ‘पोखरा सबै मौसमका लागि’ भनेर भन्दै आएपनि त्यो अनुसार गतिविधि गर्न नसक्दा यो बेला पाहुना आएका छैनन। यस्तै साहसिक पाहुना भित्र्याउनका लागि केही न केही गतिविधि गर्न सक्नुपर्छ, यो एउटा प्रयास मात्र हो।’

व्यावसायीका अनुसार अघिल्ला वर्षका सडक दुर्घटनाका कारण भारतीय पर्यटन माझ नेपालबारे गलत सन्देश प्रवाह भएको छ। त्यही सन्देशका कारण पाहुना आगमन कमजोर बनेको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पनि मनसुनमा पर्यटक भित्र्याउने गरि खासै पहल गरेको छैन। 

‘मनसुनको यो बेलामा नेपाल घुमघामको अवस्था र अनुभवबारे हामीले पर्याप्त बजारीकरण नै गरेका छैनौ। त्यसैले पर्यटक पनि आएका छैनन। यो बेलाको घुमघाम अनुभव बटुल्ने गरि पाहुनालाई बोलाउन सक्ने हो भने पर्यटन क्षेत्रले लाभ पाउँछ,’ उनले भने, ‘पोखरा सबै मौसम’का लागि भन्दै आएपनि मनसुनमा घुम्न सकिने गन्तव्य र यात्रा अनुभवबारे हामीले सन्देश प्रवाह गर्नबाट चुकेका छौं।’

भारतीय पर्यटकको यो समूहबाट भारतीय पर्यटनमाझ नेपालको मनसुन सिजनको यात्रा अनुभवको सन्देश प्रवाह हुने उनले बताए। यस्ता घुमफिरबाट आगामि दिनमा नेपालमा भारतीय पर्यटक भित्र्याउन सकिने अपेक्षा गर्न सकिने थापाले बताए।

उक्त यात्राका सहभागि प्रनभ साहले पर्यटन क्षेत्रमा यस्ता रोमाञ्चक यात्राले सकारात्मक सन्देश दिलाउने बताए। उनका अनुसार नेपालको मनसुनको यो यात्रा निकै नै रोमाञ्चक थियो। ‘प्राकृतिक सुन्दरताले पोखराको यात्रा झनै रमाइलो भयो। हरियाली डाँडापाखा, वनजंगल, पाखापखेराको कच्ची सडक यात्रा झनै बढी रोमाञ्चक थियो। यो अनुभवले आगामि दिनमा पोखरामा थप भारतीय पर्यटक यही सिजनमा पठाउन हामीलाई प्रोत्साहन मिलेको छ,’ उनले भने, ‘पर्यटक भित्र्याउने बहाना मनसुन बन्ने रहेछ। नेपालको पर्यटन क्षेत्रले यस्तो मौसमको भरपुर उपयोग गरेर प्रवर्द्धन गर्ने हो भने पर्यटक भित्र्याउन सकिन्छ।’  

पर्यटन व्यावसायीका अनुसार पर्यटकीय हिसाबले यो बेला ‘अफसिजन’ हो। मनसुनको यो बेला विदेशी पाहुना कम हुनुलाई व्यावसायीले स्वभाविकै ठान्छन। उनै व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ भन्दै पाहुनालाई घुम्न पनि बोलाउँछन्। व्यावसायीका अनुसार लामो समयसम्म वर्षा हुने हुँदा मनसुनको यो बेला पदयात्रा हुँदैन। त्यसबाहेक अरु साहसिक पर्यटकीय गतिविधि पनि ठप्प जस्तै हुन्छन।  

तर, पछिल्लो दशक आन्तरिक पाहुना आउन थालेपछि व्यावसायीले अफसिजनमा पनि पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँदै आएका थिए। अहिले पनि व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ उपयुक्त भन्दै पनि आएका छन्। तर, नारा अनुसार मनसुनको यो अवधिमा पर्यटक तान्ने कुनै गतिविधि भने व्यावसायीले गर्दैनन्। पोखरा सबै मौसमका लागि भन्ने व्यावसायीले मनसुनको यो समयमा आन्तरिक वा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गर्ने खालका कार्यक्रम गर्दैनन। मनसुनमा कुनैपनि गतिविधि नहुँदा यतिबेला पोखराको पर्यटन क्षेत्र सुनसान बनेको उनीहरु नै बताउँछन्।  

परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा सबै सिजनका लागि भनिए पनि यो सिजनमा घुम्न आउनु भन्दै बजारीकरण हुन नसकेको बताए। ‘मनसुनको अवधिमा हुन सक्ने पर्यटकीय गतिविधिलाई हामीले प्रवर्द्धन गर्ने हो भने पर्यटक भित्रिन्छन। तर, त्यसमा चाँसो कम भएकै हो,’ उनले भने, ‘यो बेला मनसुनको बहानामा पाहुना भित्र्याउने प्रयास जरुरी छ।’  

अर्का पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले पर्यटकीय गतिविधि नहुँदा यो बेला पर्यटन क्षेत्र सुनसान बनेको बताए। ‘हामीले पोखरा सबै मौसमका लागि भनेर नारामा सिमीत राख्यौ। तर, यो बेला रमाउने खालका गतिविधि गर्ने हो भने पाहुना आउँछन। वर्षायाम भनेर सुस्ताएर बसेर मात्र हुँदैन। केही न केही गतिविधि गर्ने हो भने पाहुना आउनेछन,’ उनले भने, ‘नेपालको मनसुन अनुभव बटुल्न गरि पर्यटकलाई घुम्न आउनका लागि आव्हान गर्न सकिन्छ। त्यसका लागि आकर्षक कार्यक्रम गर्न सकिन्छ।’  

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा मनसुनी अनुभव बटुल्न चाहने पर्यटक पनि हुने भएकोले ती पर्यटक पहिचान गरेर सम्बन्धित बजारमा प्रवर्द्धन गर्नुपर्ने बताउँछन। उनका अनुसार पोखराभित्रका तातलैया, आसपासमा सानातिना नदीनाला, नजिकका डाँडाकाँडामा पर्यटकलाई घुमाउने गरि योजना बनाएर प्रवर्द्धन गर्ने हो भने पर्यटक भित्र्याउने बहाना मनसुन बन्नेछ।  

‘यो बेला पानीमा रमाउँदै गरिने गतिविधि गर्न सकिन्छ। नेपालमा मनसुनको समयमा खासै गतिविधि हुन नसक्दा पर्यटक नआएका हुन। पर्यटक भित्र्याउनका लागि कुनै न हुनै बहाना चाहिन्छ। त्यो बहाना आफैले बनाउने हो,’ उनले भने, ‘भारतीयको समूह आएजस्तै यो बेलामा घुमफिरको योजना बनाएर प्रवर्द्धन गर्न सकिन्छ। पोखरा सबै मौसमका लागि भन्नै नाराजस्तै प्रव्द्धनमा ध्यान दिनुपर्छ, त्यसो हुँदा पाहुना नभएको भनेर भन्नुपर्दैन। तर, योजना भने बनाउनुपर्छ।’  

प्रकाशित: ३० असार २०८२ १७:५३ सोमबार

पर्यटक मनसुन