अर्थ

विपक्षीको घेराबन्दीका बीच वृन्दावन नगरपालिकाले ल्यायो ५८ करोडभन्दा बढीको बजेट

रौतहटको वृन्दावन नगरपालिकाले कडा सुरक्षाबिच बजेट ल्याएको छ । नगर उपप्रमुखको अनुपस्थितिमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ७७ लाख ८ हजार ३३५ रुपैयाँ बराबर आयव्यवको विवरण सार्वजनिक गरेको हो ।  

योजना तर्जुमा समितिका कार्यवाहक सभापति एवं वडाध्यक्ष जगन्नाथ भेडिहरले आगामी आर्थिक वर्षको लागि नगरपालिकाको नीति तथा कार्यक्रमसहित अनुमानित बजेट प्रस्तुत गरेका थिए । विपक्षीको चौतर्फी विरोध र घेराबन्दीका बीच नगरसभा बजेट प्रस्तुत भएको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए । नगरसभाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पूर्वाधार निर्माण कार्यलाई विशेष प्राथमिकतामा राखी योजना तथा कार्यक्रमहरु समावेश गरेको नगर प्रमुख कुर्मीको दाबी छ ।  

वृन्दावन नगरपालिकाले नियमानुसार गत असार १० मा नै बजेट ल्याउन खोजेको थियो तर नगर उपप्रमुख संगीता देवी रामले नगरसभा रोक्नुपर्ने माग राख्दै अदालतमा रिट निवेदन दिएकी थिइन् । अदालतले नगरसभा स्थगित गर्न दिएको आदेशको कारण असार १० गते नगरसभा हुन सकेको थिएन । असार २६ गतेका लागि तय नगरसभा पनि उपप्रमुख रामको निवेदनका कारण सर्वोच्च अदालतले रोकिदिएको थियो ।  

नगर प्रमुख पक्षले सबै विधि र प्रक्रिया पूरा गरेर नगरसभा सम्पन्न भएको दाबी गरेको छ । तर उपप्रमुख रामले नगरपालिकाले विधि प्रक्रियालाई मिचेर बजेट अधिवेशन बोलाएकाले आफू सहभागी नभएको बताएकी छन् ।  

नगर उपप्रमुखको अनुपस्थितिमा भएको नगरसभामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

प्रकाशित: ३० असार २०८२ १८:५२ सोमबार

#Budget #NagarikNews #NepaliNews