अर्थ

प्रविधिले गाउँकी चेलीलाई ‘ग्लोबल’ उद्यमी बनाउन सक्छ : अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासङ्घ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रविधिको उच्चतम प्रयोगले गाउँकी चेलीलाई ग्लोबल उद्यमी बनाउन सक्ने धारणा राखेकी छिन्। बुधवार काठमाडौँमा आयोजित  ओमेटो पार्टनरको भव्य उद्घाटन कार्यक्रममा ज्ञवालीले  नवप्रवर्तनको अर्थ केवल वेबसाइट वा मोबाइल एप विकास गर्नु मात्र नभई  साँचो नवप्रवर्तन भनेको कृत्रिम बुद्धिमत्ता, सुरक्षित डिजिटल भुक्तानी प्रणाली, विश्वास निर्माण गर्ने उपाय, र प्रभावकारी डेलिभरी प्रणालीहरू प्रयोग गरेर समावेशी, सुरक्षित र दिगो डिजिटल बजार निर्माण गर्नु  रहेको बताइन्। 

‘आजको तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल युगमा नवप्रवर्तन कुनै विकल्प होइन , यो आवश्यकताको रूप लिइसकेको छ।,’ उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि ज्ञवालीले भनिन्, ‘ई–कमर्स प्लेटफर्महरूले भौगोलिक सीमाहरू मेटाउँदै, साना तथा मध्यम व्यवसायहरूका लागि नयाँ अवसरहरू सिर्जना गरेका छन्, जसमा महिला, युवा र ग्रामीण समुदायका उद्यमीहरूलाई विशेष फाइदा पुगेको छ।’

प्रविधिको सहयोगले आम जीवनमा उज्यालो ल्याउन सकिने बताउँदै समयअनुसारको बाटोमा सबै चल्नु पर्ने उनले सुझाइन् । ‘डिजिटल वाणिज्य प्लेटफर्म केवल प्रविधिको कुरा होइन , यो आर्थिक रूपान्तरणको साधन हो,,’ उनले भनिन्, ‘जसले महिला नेतृत्वको व्यवसायहरू, घरेलु उत्पादकहरू, र नवप्रवर्तनशील युवा उद्यमीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पहुँच दिन्छ।’

डिजिटल पहुँच र नवप्रवर्तनमा महिलाको सशक्त सहभागिता आर्थिक समृद्धिको मेरुदण्ड रहेको बताउँदै  हामी सबै मिलेर अगाडि बढ्यौँ भने, डिजिटल क्रान्तिले नेपाललाई आत्मनिर्भरताको बाटोमा लैजाने उनले सुनाइन् । ‘आजको यो जमघट साझेदारी, नवीन सोच र भविष्यप्रति प्रतिबद्धता को प्रतीक हो।,’ उनले भनिन्, ‘आउनुहोस्, हामी सबै मिलेर डिजिटल वाणिज्य प्रणालीमा महिला, युवा, र ग्रामीण उद्यमीहरूको उपस्थितिलाई सुनिश्चित गर्दै, समावेशी आर्थिक भविष्य निर्माण गरौँ।’

नेपालकै ठुलो ‘डि टु सि’ युनिफाइड कमर्स प्लेटफर्म बन्ने लक्ष्यसहित ओमेटो पार्टनरको ग्रान्ड ओपनिङ कार्यक्रम बुधवार काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ।उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, टेक्नोलोजी क्षेत्रमा संलग्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ओमेटो पार्टनर लाई नेपाली ई–कमर्स प्रणालीमा नवीन अवसरको सुरुवात भन्दै स्वागत गरेका छन्।  

कार्यक्रममा ओमेटो पार्टनर सिइओ सागर पोखरेलले नेपालको उद्यमशीलता र डिजिटल व्यापार प्रविधिमा क्रान्ति ल्याउन ओमेटोले नेतृत्वदायी भूमिका खेल्ने बताए ।  युवा पुस्ताले देशमै रहेर आत्मनिर्भरता कायम गर्दै, आर्थिक रूपमा योगदान  दिने उनले सुनाए। ‘यसबाट देशको पैसा देशमै रहन्छ,’ उनले भने, ‘मुलुक आत्मनिर्भरको बाटोमा बड्ने छ।’ यो प्लेटफर्मले नेपाली ग्राहक र व्यवसायीलाई सिधा जडान गर्ने, सस्तो मूल्य, छिटो डेलिभरी, र विश्वसनीय सेवा उपलब्ध गराउने उनले विश्वास व्यक्त  गरे । सन २०२६ सम्मा  दश लाख प्रयोगकर्ता र  २५ हजारसम्म पार्टनर बनाउने  योजना रहेको उनले सुनाए। 

प्रकाशित: १ श्रावण २०८२ ०९:२२ बिहीबार

#Technology and Markets in Hydropower #NagarikNews ##NepaliNews