अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी

पाँचवटा ट्याक्सीका चालकलाई कारवाहि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।

केहीदिन अघि काठमाडौंबाट आएकी एकजना महिला यात्रुले आफ्नो सवारीलाई लिन बोलाएकी थिइन। तर, विमानस्थलका ट्याक्सी चालकले आफन्तलाई लिन गएको उक्त सवारीका चालकलाई अभद्र व्यवहार गर्दै यात्रुमाथि दुव्र्यवहार गरेको गुनासो सामाजिक सञ्जालबाट बाहिरिएको थियो। त्यसलगत्तै विमानस्थलमा उजुर समेत परेको थियो।  

विमानस्थलमा उजुर परेपछि विमानस्थलको सुरक्षा गार्ड कार्यालयले छानविन थालेको थियो। छानविनका क्रममा यात्रु लिन तथा छाड्न आएका बाहिरी सवारीका चालकमाथि अभद्र व्यवहार गरेको पुष्टि भएपछि विमानस्थलबाट सेवा संचालन गरिरहेका पाँचवटा ट्याक्सीका चालकलाई एकमहिनासम्म विमानस्थलको ट्याक्सी सेवा संचालन गर्नबाट रोक लगाइएको छ। कारवाहिमा परेका ती ट्याक्सी चालकले पुस ८ गतेदेखि लागु हुने गरि एकमहिनासम्म विमानस्थलबाट सेवा दिन पाउनेछैनन।  

‘विमानस्थलबाट ट्याक्सी सेवा संचालन गर्ने सम्पूर्ण चालकले अबदेखि यात्रुसँग नम्र, सभ्य, सालीन एवं मर्यादित व्यवहार नगरेमा कानुन अनुसार कारवाहि हुनेछ,’ विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले विज्ञप्तीमार्फत भनेकि छिन, ‘बाहिरबाट यात्रु लिन र छाड्न आएका सवारीलाई कुनै पनि किसिमको अवरोध गर्न पाइनेछैन।’  

विमानस्थलले इन्ड्राइभ, पठाओ जस्ता अनलाईन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छाड्न (ड्रप) तथा नियमानुसार शुल्क तिरी विमानस्थलको पार्किङ क्षेत्रमा पार्किङ गरि आफ्नो यात्रु लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकबाट कुनै अवरोध नगर्ने र नगराउनेबारे निर्णय भएको पनि विज्ञप्तीमा उल्लेख छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गरिरहेका ट्याक्सी चालकले यात्रुलाई बारम्बार दुख दिने गरेको, यात्रुसँग मनलाग्दी भाडा असुल्ने गरेको, बाहिरबाट यात्रु बोकेर गएको ट्याक्सीलाई फर्किदा भित्रबाट यात्रु बोक्न नदिने गरेको, आफन्तको पर्खाइमा १० मिनेट भन्दा बढी समय रोकेमा अवरोध गर्ने गरेको गुनासो बारम्बार आएपनि कारवाहि भएको थिएन।  

‘पर्यटकीय सहरको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रदान गरिने ट्याक्सी सेवाको मनपरि रोक्न नसकिएकै हो,’ विमानस्थलकै एकजना उच्च अधिकारीले भने, ‘चालकले मनलाग्दी भाडा असुल्दा पनि कसैले रोक्ने आँट गरेका छैनन। आफन्तलाई छाड्न र लिन गएका निजी सवारीलाई समेत अवरुद्ध गरेर नराम्रो सन्देश फैलाइएको छ।’ ती अधिकारीका अनुसार नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पार्किङ क्षेत्र निजी कम्पनिलाई ठेक्का दिएको छ।

पार्किङ क्षेत्रमा पार्किङ गरेबापत सवारीलाई प्रतिघण्टाको दरले शुल्क तिर्नुपर्छ। पार्किङ शुल्क प्राधिकरणले नै तोकेको छ। तर, विमास्थलबाट सेवा दिईरहेका ट्याक्सी चालकको मनलाग्दी रहेको उनले बताए। ‘बाहिरबाट यात्रुलिएर गएको कुनै ट्याक्सी फर्किदा रित्तै फर्किनुपर्ने अवस्था छ। विमानस्थलका ट्याक्सीले मात्र यात्रु बोक्नु पाउनुपर्ने, बाहिरबाट गएका ट्याक्सी रित्तै फर्किनुपर्ने अवस्था छ। यसले यात्रुलाई महंगो भाडा पारेको छ,’ ती अधिकारीले भने, ‘विमानस्थल, अस्पताल, बसपार्क जस्ता अत्यावश्यक ठाउँमा आउजाउ गरेकै भरमा सवारीले पार्किङको नाममा ठूलो शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने हो, तर, त्यो व्यवस्था हुन नसक्दा सास्ती भएको छ।’

विमानस्थलका ट्याक्सीले यात्रुसँग लिने शुल्क पनि अचाक्ली भएको गुनासो बारम्बार आएपनि समाधान नभएको उनले बताए। ‘सटल सेवा प्रदान गर्ने सवारी व्यवस्था नहुँदा विमानस्थलको सेवा साह्ै सकसपूर्ण बनेको छ। कम्तिमा राजमार्गसम्म सटल बस सेवा संचालन गरिदिने हो भने सहज हुन्थ्यो,’ उनले भने, ‘भाडाको विवाद समाधानका लागि प्रयासरत भएपनि प्रदेश सरकारले समेत वास्ता गरेको छैन।’  

बाहिरबाट गएका ट्याक्सी फर्किदा रित्तै फर्किनुपर्ने, मोटरसाइकललाई समेत आफन्त बोकेर ल्याउन नदिनेसम्मका अवरोध विमानस्थलमा हुने गरेको उनले बताए। पर्यटकीय सहरको विमानस्थलबाट दिइने सेवाले नराम्रो सन्देश प्रवाह गराएको गुनासो पर्यटन क्षेत्रले गर्दै आएको छ।  

प्रकाशित: ८ पुस २०८२ १७:४७ मंगलबार

ट्याक्सी चालकलाई नियन्त्रणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल