विभिन्न क्षेत्रबाट नगरको विकासमा योगदान गर्ने व्यक्ति र संस्थालाई इलामको सूर्योदय नगरपालिकाकाले सम्मान र पुरस्कृत गरेको छ । नगरले कृषि, स्वास्थ्य, शिक्षा, पत्रकारिता, उद्यमलगायत विभिन्न क्षेत्रका १९ व्यक्ति÷संस्थालाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक करण समारोहमा नगरले पत्रकार मनोज अधिकारी, वडा १ को महेन्द्रोदय आधारभूत विद्यालय, केराबारी आधारभूत विद्यालय (विव्यस), विद्यार्थी नामसाम राई र आशिका राई, जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बास्तोला, डा.विवेक कट्टेल, गायक/सङ्गीतकार भूपेन्द्र राई, नगरका कर्मचारी योजना अधिकृत खेमराज राई, लेखा शाखाकी सिर्जना विष्ट, महिला उद्यमी द्वय संगीता कामी र शरण थुलुङ, किसान सीतादेवी अधिकारी, अम्बिटार टोल विकास संस्थालाई सम्मान/पुरस्कृत गरेको हो ।
गणित शिक्षक भूपेन्द्र अधिकारी, विज्ञान शिक्षक दीपेन्द्र आचार्य, होटेल हिल टावर, न्यायिक समितितर्फ लेखनाथ दाहाल र स्वास्थ्यतर्फ बिना लाप्चा पनि पुरस्कृत भएको नगरका योजना अधिकृत खेमराज राईले जानकारी दिए ।
कार्यक्रममा सूर्याेदयका मेयर रणबहादुर राई, इलाम क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले छनोटमा परेका व्यक्ति र संस्थालाई पुरस्कृत गरेका थिए ।
एक अर्ब ४० करोडको बजेट सार्वजनिक
नगरले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ४० करोड रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विनियोजित रकममध्ये चालु खर्चका लागि ६८ करोड ३१ लाख रुपैयाँ र ३९ करोड ७१ लाख रुपैयाँ पुँजीगततर्फ छुट्टाइएको छ ।
विनियोजित रकममध्ये एक अर्ब आठ करोड तीन लाख रुपैयाँ स्थानीय सञ्चित कोषबाट र ३२ करोड रुपैयाँ अन्तर सरकारी अख्तियारी अन्तर्गत संघीय कोषबाट खर्च हुने अनुमान छ । नगरपालिकाले आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट २२ करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट ६४ करोड ४३ लाख रुपैयाँ र प्रदेश सरकारबाट चार करोड ४४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
मेयर राईले सूर्याेदयले भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत सबै क्षेत्रको दिगो विकास अवधारणा कार्यान्वयन गरिरहेको बताए । ‘हामी सडक, खानेपानी, पूर्वाधारलगायत सबै क्षेत्रमा दीर्घकालीन योजना कार्यान्वयन गर्दैछौं,’ उनले भने, ‘नगर विकासमा तीनै तहका सरकार र नगर बासीको समन्वय आवश्यक रहेको बताए ।’
सभाहल बनाउने सांसद बस्नेतको प्रतिबद्धता
सूर्योदय नगरपालिकासमेत रहेको इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भारतसँग सीमा जोडिएको सूूर्याेदय नगरपालिकाको विकास र प्रगति प्रशंसा गर्न लायक रहेको प्रतिक्रिया दिए । ‘नगरले विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको छ,’ उनले भने, ‘यसलाई अझ व्यापक बनाउन संघीय सरकारसँग समन्वय गर्ने काम म गर्नेछु ।’
बस्नेतले सूर्योदय नगरपालिकामा बर्सेनि ठूलो संख्यामा पर्यटक आउने र धेरैको आकर्षण रहे पनि विभिन्न कार्यक्रम आयोजना गर्न सभाहल आवश्यक रहेको बताए । उनले आउँदो वर्ष सूर्याेदयमा सभाहल बनाउन आफूले सिफारिस गर्ने आयोजनामा तीन करोड रुपैयाँ विनियोजनको सिफारिस गर्ने पनि बताए ।
‘मैले यसै वर्ष सूर्याेदयमा सभाहल बनाउन संघीय सरकारको सहरी विकास मन्त्रालयमा धेरै पटक प्रयास गरेँ तर सम्भव भएन,’ उनले भने, ‘तर, नगरले सभाहल बनाउन जमिन र डिपिआर (विस्तृत परियोजना प्रस्ताव) तयार गरेको रहेछ । चालु वर्ष सम्भव नभए पनि आउँदो वर्षलाई म के बचनबद्धता व्यक्त गर्छु भने सांसदले सिफारिस गर्ने बजेटमा न्यूनतम पनि तीन करोड रुपैयाँ विनियोजन गर्छु, यो ग्यारेन्टी नै भयो ।’
उनले सूर्याेदयमा तारे होटेल बन्ने अवस्था आइसक्दा पानी चुहिने हलभित्र कार्यक्रम गर्नु दुःखलाग्दो अवस्था रहेको बताए । ‘सभागृह भनेका उत्पादनमूलक हुँदैनन् मान्यता धेरैलाई रहेछ । त्यसैले स्रोत जुटाउन गाह«ो भयो । तर, आउँदो वर्ष सूर्याेदयमा यो काम थालनी हुनेछ,’ उनले भने ।
बस्नेतले ५० हजारभन्दा बढी जनसंख्या भएको सूर्याेदयमा कम्तीमा ५० शैड्ढयाको अस्पताल आवश्यक रहेको बताए । ‘यहाँ आठदेखि १० विशेषज्ञ सेवासहितको ५० बेडको अस्पताल चाहिने हो,’ उनले भने, ‘नगरले यसको आधार तयार गर्नुपर्छ, म मैले गर्नुपर्ने सबै प्रयास गर्नेछु ।’ उनले मालपोत कार्यालयसमेत नगरमै ल्याउन आफू र सूर्योदय नगरले प्रयास गरिरहेको बताए । ‘यहाँ मालपोत आउँदा सूर्याेदयमात्र होइन, रोङ र माइजोगमाई गाउँपालिकाले समेत सेवा लिने वातावरण बन्छ,’ उनले भने, ‘यसको पहलका लागि नगरले त बजेटसमेत विनियोजन गरेको रहेछ, म संघीय सरकारको ध्यानाकर्षण गर्नेछु ।’
ललितपुर महानगरका मेयर महर्जनले स्थानीय सरकारले धेरै काम गर्न खोजे पनि सार्वजनिक खरिद ऐन बाधक बनेको बताए । ‘स्थानीय सरकारले नागरिकका लागि काम गर्न नखोजेका होइनन् तर कानुनले रोकिदिन्छ,’ उनले भने, ‘अहिले प्रचलनमा रहेको सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास र समृद्धि आउने छैन ।’ उनले नागरिकका लागि प्रभावकारी र गुणस्तरीय काम गर्न ऐनका धेरै प्रावधान बाधक रहेको जनाए ।
सूर्योदय नगरको आर्थिक वर्ष २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै ।तस्बिर ः नागरिक
प्रकाशित: २० श्रावण २०८२ ११:४७ मंगलबार