अर्थ

जलाशययुक्त आयोजना र घरेलु खपत विस्तार गर्न सरकारलाई सुझाव

ऊर्जा क्षेत्रका विज्ञहरूले नेपालले अब जलविद्युत् उत्पादन बढाउने मात्र होइन, घरेलु खपत विस्तार र भण्डारण क्षमतामा पनि ध्यान दिनुपर्ने बताएका छन्। आगामी पाँच वर्षमा ठूलो परिमाणमा विद्युत् उत्पादन थपिने भए पनि त्यसलाई खपत गर्न पर्याप्त आन्तरिक माग नदेखिएको उनीहरूको भनाइ छ।

ऊर्जा नीति विश्लेषक प्रबल अधिकारीका अनुसार यदि घरेलु विद्युत् प्रयोग बढेन भने नेपालको बैंकिङ क्षेत्र, सेयर बजार र जलविद्युत् लगानी विदेशी बजारमा अत्यधिक निर्भर बन्न सक्छ। धेरै स्वतन्त्र ऊर्जा उत्पादक कम्पनी वित्तीय रूपमा कमजोर रहेको र कतिपयको व्यापार मोडेल दीर्घकालीन नाफाभन्दा आइपिओमार्फत बाहिरिने रणनीतिमा आधारित रहेको विश्लेषण गरिएको छ।

विज्ञहरूले सार्वजनिक यातायात विद्युतीकरण, विद्युतीय चुलो विस्तार, डाटा सेन्टर र ऊर्जा बढी खपत गर्ने उद्योग प्रवर्द्धनमार्फत आन्तरिक माग बढाउनुपर्ने बताएका छन्। साथै, बुढीगण्डकी, पश्चिम सेती र तामाकोसीजस्ता जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ। ऊर्जा क्षेत्रको भविष्य उत्पादनको मात्र होइन, सही समयमा सही बजारमा विद्युत् बिक्री गर्न सक्ने क्षमतामा निर्भर रहने विज्ञहरूको निष्कर्ष छ।

प्रकाशित: ३१ वैशाख २०८३ ०९:०७ बिहीबार