विश्व लगानीकर्ता सप्ताहका अबसरमा विराटनगरका शेयर लगानीकर्तालाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरिएको छ । शनिबार विराटनगरमा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज,श्रीकृष्ण,क्रिष्टल कञ्चनजंघा र शुभकामना सेक्युरिटीज प्रालिले लगानीकर्तालाई सचेत गराउन वित्तीय सचेतना कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा नेपालको शेयरबजारमा एनआरएन र विदेशी लगानीकर्तालाई नभित्रायसम्म शेयरबजार मजबुद हुन नसक्ने सहभागिहरूले बताएका छन् ।
उनीहरूका अनुसार पहिलो चरणमा एनआरएनलाई नेपाली शेयर बजारमा लगानी गर्ने र प्रतिफल लैजान पाउने व्यवस्था गर्न आबश्यक रहेको छ । लामो समयदेखि एनआरएनलाई शेयर बजारमा ल्याउने चर्चा चले पनि अझैसम्म ठोस काम हुन नसकेको धितोपत्र विज्ञ निरज गिरीले बताए । ‘लामो समयदेखि एनआरएनलाई नेपाली शेयर बजारमा भित्राउने चर्चा चले पनि अझै ठोस काम हुन सकेको छैन’, उनले भने ‘एनआरएनमार्फत विदेशी लगानी नल्याइ नेपालको शेयरबजार चलायमान हुन सक्दैन ।’
नेपाली शेयर बजारमा पछिल्लो समय कम्पनी घाटामा जान थालेपछि आइपीओ निकाल्नेक्रम बढेको भन्दै सचेत हुन लगानीकर्तालाई गिरीले आग्रह गरे । गिरीले नेपाली शेयरबजारमा ट्रेडरहरू ज्यादा सक्रिय हुँदा छिटो छिटो सूचकमा तल माथि हुने समस्या देखिएको बताए । उनले आफूसँग भएको शेयर मध्ये ७० प्रतिशत लगानी र ३० प्रतिशत ट्रेडिङका रुपमा दोस्रो बजारमा कारोबार गर्न लगानीकर्ताहरूलाई सुझाव पनि दिए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डकी रञ्जीता नेपालले राम्रा कम्पनीको मूल्य सस्तो र कमजोर फण्डामेन्टल भएका कम्पनीको पनि शेयर मूल्य बढी हुनुको कारण लगानीकर्ताको मानसिकता भएको बताइन् । उनले कमजोर फण्डामेन्टल भएका कम्पनीको शेयर महँगोमा किन्नु जोखिमपूर्ण हुने भएकाले शेयर खरिद गर्नुअघि ट्रेन्ड र कम्पनीको फण्डामेन्टल दुबैलाई बिचार पुर्याउन आबश्यक भएको धारणा राखे । शेयरबजारप्रति सरकारले सबै किसिमका लचकता अपनाउदा पनि बजार नबढ्दा लगानीकर्ताहरूले भने निराशा व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल धितोपत्र बोर्डकी समिक्षा खनाल, नेपाल ब्रोकर एशोसियसनका पूर्व अध्यक्ष नन्दकिशोर मुण्दडा, विभिन्न ब्रोकर कम्पनीका प्रतिनिधिहरू र लगानीकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित: २७ मंसिर २०८२ २०:०० शनिबार