अर्थ

उखु किसानले प्रतिक्विन्टल ६९० रुपैयाँ पाउने

सरकारले गत वर्ष उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिँदै आएकोमा यस वर्ष थप ३५ रुपैयाँका दरले अनुदान रकम बढाएको छ ।  

मंसिर २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस वर्ष ३५ रुपैयाँ बढाउने निर्णय गरेको हो । अघिल्लो वर्षको समेत गरेर अनुदान रकम ७० रुपैयाँ पुगेको छ ।  

सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य समेत निर्धारण गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा.जानुका पण्डितका अनुसार सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल छ सय २० रुपैयाँ निर्धारण गरेको छ । सरकारको निर्णय अनुसार अब किसानले प्रतिक्विन्टल उखुको मूल्य छ सय ९० रुपैयाँ पाउने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिस गरे अनुसार सरकारले अनुदान रकम बढाएको हो । सरकारले प्रत्येक वर्ष उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । उखुको समर्थन मूल्य निर्धारण गरेसँगै सरकार प्रत्येक वर्ष अनुदान रकम वृद्धि गर्दै आइरहेको छ ।  

गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले उखुको समर्थन मूल्य पाँच सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।  

सरकारले आर्थिक वर्ष २०८०/८१ मा छ सय ३५ रुपैयाँ, २०७९/८० मा छ सय १० रुपैयाँ, २०७८/७९ मा पाँच सय ९० रुपैयाँ र २०७७/७८ मा पाँच सय ४४ रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।  

सरकारले गत वर्षको तुलनामा यस वर्ष उखुको समर्थन मूल्य बढाएको भए पनि उखु उत्पादन महासंघ नेपालले भन्ने समर्थन मूल्यप्रति आपति जनाएको छ ।  

उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायका अनुसार सरकारसँगै हामीहरुको पुरानो माग यथावत् नै थियो । सरकारले तोकेको उखुको नयाँ समर्थन मूल्य र अनुदानमा आफूहरूको चित्त नबुझेको उनले बताए ।  

अध्यक्ष रायले भने, ‘हामीले पटक–पटक सरकारलाई ३५ रुपैयाँ भुक्तानी गर्न माग गरे पनि अहिलेसम्म भुक्तानी नभएकाले सरकारको निर्णयप्रति हाम्रो असहमति छ ।’ महासंघको बैठक एक/दुई दिनमा बसेर सरकारको समर्थन मूल्यबारे समीक्षा गर्ने र आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए ।  

मन्त्रालयले अध्ययन गरी उखुको लागत मूल्य प्रतिक्विन्टल चार सय ३७ रुपैयाँ, ढुवानी ८१ रुपैयाँ र नाफा एक सय दुई रुपैयाँ हुने गरी न्यूनतम समर्थन मूल्य छ सय २० रुपैयाँ निर्धारण गर्न मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

प्रकाशित: २४ मंसिर २०८२ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App