अर्थ

सेयर बजारमा उतारचढाव, नेप्से घट्यो, कारोबार रकम पनि कम

सेयरबजारमा उतारचढाव देखिएको छ । नेप्से परिसूचक साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।  

अघिल्लो दिन आइतबार ३० अंकले बढेको नेप्से परिसूचक आज ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स ०.८३ अंकले घटेर ४५६.३९ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३३३ स्क्रिप्सको १ करोड २१ लाख ८५ हजार  ३८८ कित्ता सेयर ६ अर्ब  ५ करोड २२ लाख २६ हजार  ९०३ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ९ अर्ब बढीको सेयर कारोबार भएको थियो।

सेयर बजार ओरालो लागेपनि  दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसदिन इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ३३ करोडको सेयर कारोबार गर्दा राधी विद्युतको २४ करोड,सिनर्जी पावर डेभलपमेन्टको २४ करोड र युनियन हाइड्रोपावरको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ७२ स्टक्सको मूल्य बढ्दा १७२ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। ६ वटा समूहको उपसूचक बढ्दा अन्यको घटेको छ ।

प्रकाशित: १७ कार्तिक २०८२ १५:४५ सोमबार