अर्थ

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुख अर्यालकाे चासो

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाएका छन्। 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख अर्यालले आयोजनाको निर्माण कार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए। 

उनले भने, 'यो राष्ट्रिय गौरवको परियोजना हो। यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो। त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन।'

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए। स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,' उनले भने। 

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। 'सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौं,' आयोजना प्रमुखसँग उनले भने। 

त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तामाङले पनि आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए। सांसद बोधनारायण श्रेष्ठले ठुला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे। 

बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो। राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ। आयोजनाको अनुमानित लागत ३ खर्ब ७४ अर्ब रुपैयाँबराबर छ।

प्रकाशित: २६ चैत्र २०८२ १८:४८ बिहीबार