अर्थ

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा शोभा ज्ञवालीको उम्मेदवारी

महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। एसोसिएटतर्फबाट उम्मेदवारी दिने तयारी गरेकी ज्ञवालीले महिला उद्यमीहरूको आवाजलाई राष्ट्रिय नीति तहसम्म पुर्‍याउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएकी छन्।

आइतबार सार्वजनिक आफ्नो भनाइमा उनले व्यवसायमैत्री वातावरण निर्माण, लगानी विस्तार र महिला उद्यमशीलताको सशक्तिकरणलाई मुख्य एजेन्डा बनाएकी छिन्। ‘लोकल टु ग्लोबल’ अवधारणालाई आफ्नो प्रमुख अभियान बनाउँदै उनले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने संरचना निर्माणमा महासंघमार्फत पहल गर्ने दाबी गरिन्।

ज्ञवालीका अनुसार नेपालमा साना तथा घरेलु उद्योगमा महिलाको सहभागिता बढ्दै गएको छ, तर उनीहरूको उत्पादनलाई बजार विस्तार र निर्यातसम्म पुर्‍याउन संस्थागत सहयोग आवश्यक छ। यसका लागि सरकार, निजी क्षेत्र र महासंघबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको धारणा छ।

उनले पर्यटन, जडीबुटी तथा लगानीका सम्भावित क्षेत्रहरूमा नीति सुधार र लगानीमैत्री वातावरण बनाउन पनि जोड दिने बताइन्। अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालका सम्भावनालाई निरन्तर उठाउँदै आएकी ज्ञवालीले महासंघभित्र पनि त्यही एजेन्डालाई अघि बढाउने लक्ष्य राखेकी छन्।

यसअघि महासंघमा केन्द्रीय सदस्यको रूपमा अनुभव बटुलेकी ज्ञवाली दोस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा उत्रिएकी हुन्। उनी नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सकी निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष पनि हुन्।

एसोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठको प्यानलबाट ज्ञवालीले सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्। श्रेष्ठको प्यानबाट बिहीबार र आइतबार गरेर कुल १९ जनाले उम्मेदवारी दर्ता गराएका  छन्।

-अविनास बोहोरा

-अम्बिका शर्मा लामिछाने

-बटु लामिछाने

-बलराम सापकोटा

-भरत रानाभाट

-देशबन्दु बस्नेत (अजित)

-गोपाल खनाल

-जमुना पौडेल

-जयस श्रेष्ठ

-रामराजा श्रेष्ठ

-डा.रामशरण थपलिया

-राजकुमार तिमलसिना

-शोभा ज्ञवाली

-सन्दिप अग्रवाल (माखरिया)

-शैलेन्द्र गुरागाई

-सुनिलनारायण श्रेष्ठ

-सचिन ढकाल

-ई.विनोद ढकाल

-चन्द्र ढकाल (काभ्रे)

प्रकाशित: २२ चैत्र २०८२ २०:११ आइतबार