भोटेकोसी बाढीपीडितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आठ दिनमा ५ अर्ब २० करोड ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
उक्त कोषमा बुधबार साँझ ५ बजेसम्म ७ अर्ब ३७ करोड ६० लाख ७३ हजार रुपैयाँ छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारीका अनुसार बाढी आउनुअघि उक्त कोषमा दुई अर्ब १७ करोड रुपैयाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बाढी आउनुपूर्व कोषमा रहेको रकम घटाउँदा आठ दिनमा कोषमा ५ अर्ब २० करोड ६० लाख ७३ हजार ८९१ रुपैयाँ संकलन भएको देखिएको हो।
उक्त रकम भोटेकोसी बाढीपीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट संकलित रकम हो। ती कर्मचारीका अनुसार यस अवधिमा भोटेकोसी बाढीपीडितको उद्धार र राहतका लागि विभिन्न देशबाट ७१ लाख ५८ हजार २४७ अमेरिकी डलर जम्मा भएको छ। यसको नेपाली रुपैयाँ एक अर्ब ८८ करोड १९ लाख हाराहारी हुन आउँछ। कोष सञ्चालन गर्न प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालन नियमावली २०६३ को व्यवस्था गरिएको छ।
उक्त नियमावलीअनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कोषको संयोजक हुने व्यवस्था छ। सदस्यहरूमा साबिकको स्थानीय विकास मन्त्रालय (हाल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) सचिव, गृह मन्त्रालयका सचिव, साबिकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय) का सचिव सदस्य रहने व्यवस्था छ। यसैगरी पूर्वाधार विकास मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव उक्त कोषमा पदेन सदस्य रहने व्यवस्था छ।
भोटेकोसी बाढीपछि गत मंगलबार बसेको दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले कोषमा जम्मा भएको रकमको एक अर्ब रुपैयाँ तत्काल बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ। बैठकले उक्त रकम गृह मन्त्रालयका सचिवका नेतृत्वमा परिचालन हुने कोषमा जम्मा गरी निकासा गर्ने निर्णय गरेको थियो। एभरेस्ट बैंकको खातामा जम्मा भएको रकम निकासा गरिएको थियो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषको परिचालन गृह सचिव संयोजक हुने समितिले परिचालन गर्ने छ।बाढीपीडितलाई तत्कालै राहत तथा उद्धार गर्न तथा अस्थायी बसोबासको व्यवस्था मिलाउन उक्त रकम खर्च हुने छ।
कहाँकहाँ खर्च गर्न सकिन्छ?
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालन नियमावली २०६३ अनुसार कोषमा जम्मा भएको रकम दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्ने, तत्कालन राहतका लागि अस्थायी शिविर खडा गर्ने, पीडितको भरणपोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु खरिद गर्ने, दैवी प्रकोपको कारणबाट घाइते वा बिरामी भएको व्यक्तिको औषधि उपचार गर्न खर्च गर्न सकिने छ।
यसैगरी दैवी प्रकोपको कारणबाट देहावसान भएका व्यक्तिको काजकिरिया वा सद्गतका लागि मृतकका आफन्तका लागि आर्थिक सहायता गर्ने, दैवी प्रकोपको कारणबाट भएको फोहोरमैला तथा प्रदूषणको विसर्जन (डिस्पोजल) गर्ने, दैवी प्रकोपबाट पीडित व्यक्तिको अस्थायी रूपमा आश्रयस्थल बनाउने वा पुनस्र्थापना गर्ने, दैवी प्रकोपबाट पीडित व्यक्तिको आवासीय घर वा निजको पेसासँग सम्बन्धित औजार, वर्कसप मर्मतका लागि आर्थिक सहायता प्रदान गर्ने, दैवी प्रकोप रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पूर्वसावधानी अपनाउने वा पूर्वतयारी गर्ने उद्देश्यबाट उक्त रकम खर्च गरिने छ।
नियमावली अनुसार कुनै सरकारी वा गैरसरकारी कर्मचारीलाई पारिश्रमिक, तलब, भत्ता वा सुविधा उपलब्ध गराउन, कुनै सरकारी वा गैरसरकारी कर्मचारीलाई भ्रमण खर्च वा अन्य त्यस्तै प्रकारको खर्च उपलब्ध गराउन, कसैलाई चन्दा, पुरस्कार, उपहार वा अनुदान प्रदान गर्न, दैवी प्रकोपसँग सम्बन्धित विषयमा बाहेक कसैलाई आर्थिक सहायता उपलब्ध गराउन उक्त रकम खर्च गरिने छैन ।
प्रकाशित: १८ भाद्र २०८३ ०७:४१ बिहीबार