इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (इस्पान) ले आगामी सोमबारदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध गराउन नसकिने बताएको छ।
विश्वव्यापी महँगी र सञ्चालन लागतमा भएको अत्यधिक वृद्धिका कारण देखाउँदै इस्पानले यस्तो निर्णय लिएको हो।
इस्पानका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिअनुसार पछिल्ला वर्षहरूमा बढेको मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनमा भएको मूल्यवृद्धि र फाइबरको मूल्य अकासिँदा इन्टरनेट सेवा प्रवाह गर्न कठिन भएको हो।
त्यस्तै, अत्यधिक मुद्रास्फीति र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले इलेक्ट्रोनिक तथा चिपसेटको मूल्य एक्कासि महँगिँदा कम्पनीहरूको दैनिक सञ्चालनमै सकस परेको इस्पानले जनाएको छ।
बाध्यकारी परिस्थिति सिर्जना भएको भन्दै इस्पानले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ।
नयाँ निर्णयसँगै इस्पानले सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट मात्र आफ्नो वेबसाइटमा प्रस्ट देखिने गरी राख्न निर्देशन दिएको छ।
साथै, सम्पूर्ण ग्राहकलाई इन्टरनेटको महसुल तिर्दा अनिवार्य रूपमा भ्याट बिल लिन पनि सङ्घले अनुरोध गरेको छ। विगत १२ वर्षमा नेपालले फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा दक्षिण एसियामै पहिलो नम्बरमा रहेर गर्वलायक प्रगति गरेको अध्यक्ष पराजुलीले स्मरण गराएका छन्।
कोरोना महामारीदेखि भोटेकोशीको बाढीसम्म निरन्तर खटेर सेवा दिएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म जसोतसो गुजारा चलाएर विश्वकै सस्तोमध्येको इन्टरनेट दिइरहे पनि अबका दिनमा गुणस्तरीय सेवा दिँदै डिजिटल नेपालको सपनामा लागिरहन सस्तो प्याकेज बन्द गर्नैपर्ने बाध्यता आइपरेको हो।’
प्रकाशित: १७ आश्विन २०८३ १७:३४ शनिबार



