सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। झन्डै चार महिना चल्ने यो सिजनको सुरुमा पर्यटन व्यवसायी निकै नै आशावादी थिए। भारतीयसहित तेस्रो मुलुकका विदेशी पाहुनाको आगमनको राम्रो संकेत व्यवसायीले पाएका थिए । त्यसै अनुसार होटलको बुकिङ पनि दिनदिनै उकालो लाग्दो थियो। २५ प्रतिशत हाराहारीमा रहेको बुकिङ उकालो लागेर ७० प्रतिशतसम्म पुगिसकेको थियो।
भोटेकोसीमा बाढी आएपछि त्यसमा परेर सयौं विदेशी पर्यटक अहिले पनि सम्पर्कविहीन छन्। त्यही प्रभाव पर्यटकीय सिजनमा पर्दा अहिले विदेशी पर्यटकले होटलको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन्। आउने तयारीमा रहेका पाहुना रोकिएका छन्। सेप्टेम्बरको अधिकांश अग्रिम बुकिङ रद्द भइसकेको पर्यटन व्यवसायीले बताएका छन्।
‘अग्रिम बुकिङ उत्साहजनक भएकाले हामीले यो सिजनमा राम्रो संख्यामा पाहुना पाउने अपेक्षा गरेका थियौं तर बाढीले तहसनहस बनाएपछि बाढी आएकै दिनदेखि धमाधम बुकिङ रद्द हुन थाल्यो,’ पर्यटन व्यवसायी दोर्जे लामा भन्छन्, ‘पर्यटन क्षेत्रमा फेरि सन्नाटा छाएको छ। पर्यटकले धमाधम बुकिङ रद्द गरे पनि व्यवसायीमा पनि अन्योल छाएको छ।’
उनका अनुसार सेप्टेम्बरको अधिकांश बुकिङ रद्द भइसकेका छन्। अक्टोबर र नोभेम्बरको बुकिङ पनि अहिलेसम्म राम्रो छ तर पक्का हुने अवस्था भने नरहेको उनले बताए। ‘अक्टोबर-नोभेम्बरसम्म पाहुना आउने अपेक्षा छ। सरकारले ‘नेपाल खुला छ’ भनेर सन्देश त दिएको छ तर त्यो नै पर्याप्त भएन’, उनले भने, ‘कम्तीमा सुरक्षित ठाउँमा घुम्न सकिन्छ भनेर सन्देश प्रवाह गर्ने हो भने अबको बुकिङ प्रभावित हुने थिएन।’
व्यवसायीका अनुसार यो समय पदयात्राका लागि उपयुक्त मानिन्छ। नेपालमा अबको समयमा वर्षा कम हुने र मौसम खुल्ने भएकाले पनि पदयात्राका लागि पर्यटक आउन चाहन्छन्। अहिले त्यही यात्रा रुटमा बाढीले राजमार्गमा क्षति गरेको छ। त्यसैको प्रभाव स्वरूप आउन चाहेका पाहुना पनि रोकिएको व्यवसायीको भनाइ छ।
‘सेप्टेम्बरको बुकिङ त निकै कम भइसकेको छ। अधिकांश बुकिङ रद्द भइसकेको छ। अहिलेसम्म अक्टोबर र नोभेम्बरको बाँकी छ। अक्टोबर-नोभेम्बरको बुकिङ कसरी अघि बढ्छ भन्न सकिन्न,’ माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई भन्छन्, ‘बाढीपछि एकाएक बुकिङ रद्द भयो। सिजनका लागि आउन चाहेका विदेशीले एकाएक यात्रा रोक्न बाध्य भएका छन्।’ उनका अनुसार अहिले व्यापार निकै कम छ। बाढी नआउन्जेल पोखरा क्षेत्रका होटलको अकुपेन्सी करिब ३० प्रतिशत हाराहारीमा रहे पनि अहिले तल झरेको उनले बताए।
‘विदेशीको पदयात्रा रोकियो। बाटो अवरुद्ध हुँदा आन्तरिक पाहुना आउन पाएनन्। पोखरा आउनेजति सबै विदेशी पाहुना हवाइजहाजमै आउँछन् भन्ने पनि छैन। राती अबेरसम्म उडान पनि छैनन्, त्यसैले सबैतिर प्रभावित भएको छ,’ उनले भने। भट्टराईका अनुसार सेप्टेम्बरको बुकिङ यतिबेला ६० प्रतिशत हाराहारीमा पुगिसकेको थियो। ‘यो वर्षको राम्रो सिजन पर्यटन क्षेत्रले गुमाएको छ। भारतीय पाहुनाको बुकिङ त शून्यमा झरेको छ। अरू मुलुकका विदेशीको कमजोर बनेको छ’, उनले भने, ‘बाढीमा परेर धेरै भारतीय पर्यटकले ज्यान गुमाएको र केही अझै हराएकाले पनि भारतीय पाहुना आउने अवस्था छैन।’
व्यवसायीले पोहोर यहीबेला जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा यस्तै मार खेपेका थिए। अहिले फेरि पर्यटक भित्रिने सिजनकै मुखमा आइपरेको प्राकृतिक विपद्ले सबैतिर मार परेको उनले बताए। ‘पोहोर पनि सिजनको बेला यस्तै सुनसान भएको हो। यो पटक त विदेशीको आगमन भइहाले पनि नेपालका सबैतिरका पदयात्रा क्षेत्र जोखिम रहेको हल्ला पुगेको छ। विदेशी पर्यटक नेपालको पदयात्राका लागि आउने हुन्। कहिले कता त कहिले कता जोखिम छ भन्ने सन्देश प्रवाह हुँदा त्यसको पनि असर परेको छ’, उनले भने।
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि पर्यटन क्षेत्र अहिले संकटको अवस्थामा पुगेको बताउँछन्। सिजनको मुखमा आइपरेको विपद्ले सबैतिर नोक्सान गरेको भए पनि पर्यटनमा झन् दीर्घकालीन असर पारेको उनले बताए। उनका अनुसार पछिल्लो समय पर्यटन क्षेत्रमा सकसका दिन निम्तिएका छन्। आउने तयारीमा रहेका पर्यटक रोकिएका छन्। धेरैजसो पाहुनाले बुकिङ रद्द गरिसकेका छन्।
‘भारतीय पाहुना त झन् आउने अवस्था नै छैन। बाढीको प्रभाव अत्यधिक र बाटोको प्रभावले पनि पाहुना आउन सकेनन्। विदेशी पाहुनाले धमाधम बुकिङ रद्द गरिरहेका छन्’, उनले भने, ‘अहिलेसम्म अक्टोबर र नोभेम्बर बुकिङलाई खासै असर परेको छैन। यही अवस्था रहने हो भने अक्टोबर-नोभेम्बरको बुकिङ पनि प्रभावित हुनेछ। सेप्टेम्बरको बुकिङको अधिकांश हिस्सा रद्द भइसकेको छ। सेप्टेम्बरको बुकिङ यतिबेला ७० प्रतिशत हाराहारीमा पुगिसकेको थियो।’
पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल पनि पर्यटन क्षेत्रमा यो बेला अप्ठ्यारो अवस्था सिर्जना भएको बताउँछन्। ‘चम्किने बेलाको पर्यटन एकाएक सुस्ताउन पुगेको छ। पोखराको पर्यटन यो बेला झन्डै शून्यको हाराहारीमा पुगेको छ’, उनले भने, ‘यो बेला पदयात्राको समय हो तर सबैतिर नेपालको यात्रा जोखिममा रहेको सन्देश गएको छ।’ उनका अनुसार यो बेला सबैतिरका पाहुना नेपाल आउने समय हो। अक्टोबर नोभेम्बरमा युरोपियन पाहुना बढी आउँछन्।
‘सेप्टेम्बरको बुकिङ ७० प्रतिशत उकालो लागिसकेको थियो तर अहिले ५ प्रतिशतमा झरेको छ। आन्तरिकका लागि बाटो पनि बन्द छ’, उनले भने, ‘देशको प्रभावित क्षेत्रबाहेक अन्यत्र सुरक्षित छ भनेर सन्देश दिएर पाहुनालाई घुम्न आऊ भनेर बोलाउनुको विकल्प छैन। पर्यटन बोर्डले पाहुनालाई नेपाल घुम्न बोलाउन थालिसकेको छ।’
प्रकाशित: २३ भाद्र २०८३ १२:०९ मंगलबार