आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको छ। सम्मानित यो कम्पनिले रियल स्टेट कारोबार गर्दै आएको छ।
यसैगरी करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रालिलाई पनि सम्मान गरिएको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर उत्कृष्ट करदाताको रुपमा ती कम्पनिलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले बताएको छ।
राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आयोजित कार्याक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्र भएकोले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावारण सिर्जना गर्नुपर्ने बताइन। उनले निजी क्षेत्रलाई व्यवसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत जनाईन।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा बिस्तार गर्दै लगिने बताए। उनले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागि करदातालाई अनुरोध समेत गरेका थिए।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्त सम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ रहेको छ। जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तःशुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन।
पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जसमध्ये आयकर तर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ।
यस्तै मूल्य अभिवृद्धि करतर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ। अन्तः शुल्क तर्फ १२ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयले विलाशिता शुल्क वापत ३ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको पनि जनाएको छ। कार्यालयले गत वर्षको सोही अवधीको तुलनामा १ करोड ५४ लाख रुपैयाँ बढि राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार रुपैयाँ संकलन गरेको थियो।
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगायतका व्यवसायिक संघ संगठनका प्रतिनिधिले व्यावसायीको मनोबल उठाउने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए।
प्रकाशित: २ मंसिर २०८२ १७:१८ मंगलबार