यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ। आव २०८१-८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ।
चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ। पकेट तथा रुट परमिटबाट रु १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट रु ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट रु एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए।
सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।
प्रकाशित: २५ श्रावण २०८३ १२:०६ सोमबार