अर्थ

कपिलवस्तुका ७ उत्कृष्ट उद्यमीलाई सम्मान

उत्कृष्ट काम गरेका कपिलवस्तुका ७ उद्यामीहरुलाई सम्मानित गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले तौलिहवामा राखेको उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरेको हो।

आयआर्जन सहित रोजगारीमा योगदान दिएका कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ स्थित लक्ष्मी ढाका उद्योगकी सञ्चालिका लक्ष्मी सारु मगर, सोही पालिका वडा नम्बर १० स्थित बराह होजियारी उद्योगका संचालक एकराज अधिकारी, बुद्धभुमी नगरपालिकाको बुद्धबाटिका आचार उद्योगकी सञ्चालिका पबित्रा भट्टराई र बुद्धभुमी एकीकृत कृषि फर्मका संचालक मानदेव उपाध्याय लाई सम्मानित गरिएको हो ।

यस्तै शिवराज नगरपालिकाको लक्ष्मी कृषि फर्मका संचालक मनिराम चौधरी, बिजय नगर गाउँपालिका स्थित केलिद बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मका संचालक केशव बहादुर सारु र कपिलवस्तु नगरपालिका २ स्थित सुभलाभ पोलट्री फर्मकी सञ्चालिका श्रुती अग्रहरीलाई सम्मानित गरिएको छ । उनीहरुलाई दोसल्ला, कदर पत्र र ५ हजार नगद सहित जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले सम्मानित गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न उद्यमशीलताको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले लघु तथा घरेलु उद्योगलाई राज्यले थप सहयोग गर्नुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेले उद्यमशीलताको प्रवर्द्धनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने बताए । 

तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योगी व्यवसायीहरूप्रति सम्मानजनक व्यवहार र नीतिगत सहजताको आवश्यकता रहेको बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले उद्यमशीलता प्रवर्द्धनका लागि आगामी दिनमा तालिम, अनुदान र प्रविधि हस्तान्तरणमा कार्यालयको सक्रियता रहने बताए । 

सो अवसरमा बराह होजियारी उद्योगका संचालक एकराज अधिकारी लक्ष्मी ढाका उद्योगकी सञ्चालिका लक्ष्मी सारु मगर, बुद्धबाटिका आचार उद्योगकी सञ्चालिका पबित्रा भट्टराईले आफूहरूलाई सम्मानित गरेको थप हौसला बढेको बताए । उनीहरुले राज्यले समेत आफूहरूको समस्या हेर्नु पर्ने बताए ।  उनीहरूको निरन्तरता, सिर्जनात्मकता र सामाजिक उत्तरदायित्वलाई आधार मानेर छनोट गरिएको प्रमुख खनालले बताए । 

प्रकाशित: ३२ असार २०८२ १३:०० बुधबार

#NagarikNews #NepaliNews