अर्थ

वर्षाले नौ राजमार्ग अवरुद्ध

गत बिहीबारदेखि लगातार आएको वर्षाले शानिबार साँझसम्म देशभरि नौवटा राजमार्ग अवरुद्ध भएका छन्। यसबाट यात्रुहरू मर्कामा परेका छन् भने जनजीवन सहज हुन सकेको छैन।

सडक विभागका प्राविधिक कर्मचारीहरूले अबरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको जनाएका छन्। वर्षा रोकिने वित्तिकै पहिरो हटाउने काम प्रभावकारी हुने उनीहरूको भनाइ छ। नेपाल प्रहरीले शनिबार साँझ निकालेको बुलेटिन अनुसार वर्षा र पहिरोको कारण शनिबारसम्म देशभरि नौवटा राजमार्ग अबरुद्ध भएका छन्।

जल तथा  मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण कोसी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी स्थानीय प्रशासनले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म रातीको १२ बजेदेखि बिहान ६ बजेसम्म इलाम जिल्लाभित्र मेची राजमार्गमा सवारी साधनमा रोक लगाइएको छ।

यस्तै बिहीबार साँझ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ जोमसोम कोरोला सडक खण्डस्थित छुसाङ र ताइने बिचको कालाभिरमा लेदोसहितको पहिरो गएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार साँझ विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा, रोसी लगायत ठाउँठाउँमा सडकमाथिबाट लेदो र ढुंगा खसेपछि उक्त राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। खासगरी पोहर सालदेखि विपी राजमार्ग पटकपटक अबरुद्ध हुँदै आएको छ।

उक्त राजमार्गलाई सानो वर्षालेसमेत अबरुद्ध पार्ने गरेको छ। सडक डिभिजन भक्तपुरले पोहर साल वर्षाले भत्काएको ठाउँमा स्थायी रूपमै विपी राजजमार्ग पुनर्निमाण गर्न काम सुरु गरिरहेको छ तर वर्षाले पुनर्निर्माणको काम समेत प्रभाव पारेको सडक विभागका कर्मचारीको भनाइ छ।

शुक्रबार साँझ पाँचथर तुम्बेवा गाउँपालिका २ र धनकुटा चौबिसे गाउँपालिका ४ सिमाना भई बग्ने नालाखोलामा पानीको बहाबसहित बाढी आएपछि शुक्रबार साँझदेखि नै तमोर–कोरिडोर सडक–खण्ड पूर्णरूपमा अबरुद्ध भएको छ।

यसैगरी गत शुक्रबार अविरल वर्षाको कारण रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी बाखानीमखोला र म्याङ्लुङस्थित पासाङ ल्हामु सडक खण्डमा सडकको माथिबाट ढुंगा, लेदो र माटो खसेपछि उक्त राजमार्ग अबरुद्ध भएको सडक विभागका कर्मचारीहरूले जनाएका छन्।

शुक्रबार साँझ रामेछाप खाँडादेवी गापा १ खैरेनीघाटस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। अबरुद्ध भएको राजमार्ग खुलाउन प्रयास भइरहेको सडक विभागका कर्मचारीहरूको भनाइ छ।

गत बिहीबारदेखि परेको निरन्तर वर्षाको कारण मेची राजमार्गअन्तर्गत राजदुवालीलगायत  विभिन्न ठाँउमा जमिन चिरा परी दबेका कारण पहिरो जान सक्ने धेरै जोखिम भएकाले उक्त राजमार्ग बन्द गरिएको छ। हाल उक्त राजमार्गमा दुबैतर्फ सवारी सञ्चालन गर्न रोक लगाइएको प्रहरीको भनाइ छ।

गत कात्तिक १२ गतेदेखि पुष्पलाल (मध्यपहाडी राजमार्ग अन्तर्गत सिस्ने गापा ६ रानीटानी, साँख क्षेत्रमा सडक निर्माणको काम पूरा गर्नुपर्ने भएको भन्दै सडक विभागले  आगामी कात्तिक ३० गतेसम्म मध्यपहाडी राजमार्गको रानीकोट, किटानी, साँख सडक खण्डमा  सञ्चालन हुने यातायात सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ। त्यस राजमार्ग भएर रानीकोट, क्रिटानी, साँख खण्डमा गुड्ने ठुला सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा कैंचीमोड धाउने पोखरा निखेत मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

त्यस्तै उक्त राजमार्ग भएर रानीकोट, क्रिटानी, साँख खण्डमा गुड्ने साना सवारी साधनहरूको लागि कैंचीमोडाउने नानीगाई धपे मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। गत जेठ २ गते संखुवासभा भोटखोला गापा ४ स्थित उरुणखोलामा बाढी आएर ह्युम  पाइप बगाएकोेले खाँदबारीदेखि  थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। त्यतिबेला अबरुद्ध भएको उक्त रागमार्ग अझै  खुलेको छैन। यसबाट यात्रुहरूलाई मर्का परेको छ।

प्रकाशित: १६ कार्तिक २०८२ ०८:०१ आइतबार