बागमती प्रदेशमा सार्वजनिक सवारी साधनमा भाडा बढेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनमा भाडा वृद्धि कार्यान्वयनमा आएको हो। विद्युतीय सवारी साधनमा भने तत्काल भाडा बढाइएको छैन।
नयाँ व्यवस्था अनुसार काठमाडौं उपत्यकाभित्र यात्रुवाहक सवारीमा २५.९६ प्रतिशत भाडा वृद्धि गरिएको छ। उपत्यका बाहिरका सवारीमा १७.३५ प्रतिशत, ट्याक्सी सेवामा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतसम्म भाडा बढाइएको छ।
मन्त्रालयका अनुसार बजार मूल्यको उतारचढाव, इन्धन मूल्य वृद्धि र सञ्चालन लागत बढेका कारण भाडा समायोजन गरिएको हो। यसअघि लागू भाडादरलाई पुनरावलोकन गर्दै नयाँ दर निर्धारण गरिएको बताइएको छ।
यद्यपि विद्युतीय सवारी साधन र ट्याक्सीको भाडादर भने यथावत राखिएको छ। ती सवारीमा २०७९ सालमा तय गरिएको भाडा नै कायम रहनेछ।
भाडा वृद्धि अघि व्यवसायी तथा सरोकारवालासँग छलफल गरिएको थियो। उनीहरूले इन्धन मूल्य र सञ्चालन खर्च बढेकाले भाडा समायोजन आवश्यक भएको बताएका थिए।
नयाँ भाडादर लागू भएसँगै सर्वसाधारण यात्रुमा थप आर्थिक भार पर्ने देखिएको छ।
प्रकाशित: २७ चैत्र २०८२ १९:०६ शुक्रबार