डेरी उद्योग र दुग्ध विकास संस्थानले दूध किसानको बक्यौता रकम दसैं अघि भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । गत असारसम्मको रकम असोजसम्म भुक्तानी गर्ने सहमति पछि किसानले आन्दोलन स्थगित गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग र दूध किसानका प्रतिनिधिबीच भएको छलफलमा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएको छ । भदौ महिनासम्मको बक्यौता कात्तिक मसान्तभित्र भुक्तानी गर्ने दुई पक्षबीच सहमति भएको छ ।
दूध बिक्री गरेको करिब साढे तीन अर्ब रुपैयाँ भुक्तानी नपाए पछि किसानले सडक आन्दोलन सुरु गरेका थिए । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)देखि निजी डेरी भुक्तानी नदिए पनि किसान आन्दोलित भएका थिए ।
रकम भुक्तानी नपाएपछि पशुलाई दाना खुवाउन, बैंकको ब्याज तिर्न, घर खर्च चलाउन कठिन भए पछि आन्दोलन गर्न बाध्य भएको किसानले बताएका थिए । केन्द्रीय दुग्ध सहकारी संघको महासचिव रामप्रसाद आचार्यका अनुसार तीनदेखि ६ महिनासम्म दूधको करिब साढे तीन अर्ब भुक्तानी पाउन बाँकी रहेको छ ।
प्रकाशित: १८ भाद्र २०८२ १८:२२ बुधबार