आगामी डिसेम्बर ९ र १० गते आयोजना हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा करिब १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना ‘सोकेस’ गरिने भएको छ। सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्तासामु विभिन्न महत्त्वपूर्ण परियोजना प्रस्तुत गर्ने तयारी गरिएको हो।
पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पूर्वाधार क्षेत्रका विभिन्न परियोजना प्रस्तुत गरिने जनाइएको छ।
काठमाडौंमा सरकार र निजी क्षेत्रका संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै सम्मेलन आयोजना गर्ने घोषणा गरेका हुन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमा लगानीका लागि नेपालमा गरिएका कानुनी तथा नीतिगत सुधारसमेत ‘सोकेस’ गरिने जानकारी दिए। लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले कानुनी सुधारमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले ५९ वटा कानुनको मस्यौदा तयार भइसकेको बताए।
सम्मेलनमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तथा निजी क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
नेपालको पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनमा विभिन्न क्षेत्रका ठूला परियोजना प्रस्तुत गर्दै लगानीका सम्भावनाबारे छलफल गरिने जनाइएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १४:४८ बिहीबार