सरकारी वेबसाइट खुल्न थाले पनि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट सोमबारसम्म सञ्चालनमा आएको छैन।
राष्ट्र बैंकको वेबसाइट बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला र सर्वसाधारणलाई असुविधा भएको छ। विशेषगरी विदेशी मुद्रा विनिमय दर हेर्न समस्या भएको छ। राष्ट्र बैंकले वेबसाइट बन्द गरे यता सामाजिक सञ्जालमार्फत विनिमय दर सार्वजनिक गर्दै आएको छ।
सुरक्षा जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूले पनि आफ्ना वेबसाइट तथा इन्टरनेटमा जोडिएका केही प्रणाली अस्थायी रूपमा बन्द गरेका थिए। यसबाट अनलाइन बैंकिङ, नयाँ खाता खोल्ने, ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्ने तथा केही भुक्तानीसम्बन्धी सेवामा असर परेको बैंकरहरूले बताएका छन्।
राष्ट्र बैंकले शुक्रबार सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीलाई अत्यावश्यक सूचना जारी गर्दै आफ्ना प्रणाली इन्टरनेटमा जोड्दा सतर्कता अपनाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकमा गरिने रिपोर्टिङसमेत अफलाइन गर्न भनिएको थियो।
राष्ट्र बैंक र बैंकरहरूले वेबसाइट अस्थायी रूपमा बन्द गर्नु पूर्वसावधानीको उपाय भएको बताएका छन्। उनीहरूका अनुसार वेबसाइट बन्द गरिएको कारण बैंकको कोर बैंकिङ प्रणालीमा समस्या आएको होइन। सर्वसाधारणको बैंक खातामा रहेको रकम चोरी भएको वा व्यक्तिगत विवरण चुहिएको प्रमाण पनि सार्वजनिक भएको छैन।
यो पनि पढ्नुहोस्
राष्ट्र बैंक र नागरिक एपको वेबसाइट अझै खुलेनप्रकाशित: १० कार्तिक २०८३ ०७:०८ मंगलबार