अर्थ

व्यापारिक घरानामाथि आक्रमणपछि निजी क्षेत्र त्रसित

सिटिजन बैंकका अध्यक्ष रहेका  उद्योगी प्रवलजंग पाण्डेले बुधबार बिहान  सामाजिक सञ्जालमा लेख्दै भने, ‘प्रिय  व्यवसायी मित्रहरू! विगत दुई दिनको  घटनाक्रमले हामी सबै अन्योलमा छौं, हाम्रो मनोवल अत्यन्तै न्यून भएको  छ। हामीले ऋण गरेर उद्योग व्यवसाय  सञ्चालन गरेका हौं, लाखाैं जनतालाई  रोजगारी दिएका छाैं, राज्यको नियम परिधिमा व्यवसाय गरी राज्यलाई बुझाउनुपर्ने कर लगायत अन्य दायित्व पनि  बुझाइरहेका छौं। राजनीतिक नेतृत्वका  केही नेताको गल्तीको सजाय हामी समग्र  व्यवसायीलाई किन?  

पाण्डेको यो प्रश्नले निजी क्षेत्रको चिन्ता र त्रासदी प्रष्ट हुन्छ। पाण्डेले थप लेखेका छन्, ‘हाम्रा उद्योग व्यवसायमा निसाना किन? हाम्रा घरघरमा आक्रमण किन? के अब नेपालमा उद्योग  नचाहिने हो?

पाण्डेको प्रश्न समग्र निजी क्षेत्रको  प्रतिनिधित्व गर्छ। मुलुकको राजनीतिक अस्थिरता, बेथिती, भ्रष्टाचार, सेवा  प्रवाहमा देखिएको बेप्रवाहबाट आजित  भएका आक्रोशित जेनजीले सरकारी संरचनालाई मात्र निसाना बनाएनन् अग्रणी  व्यापारिक घरानाका उद्योग, व्यवसायमा आक्रमण गरे। उद्योगी, व्यवसायीबाट  सेवासुविधा लिए होलान् तर निजी क्षेत्रले  तिरेको अर्बौं करबाट राज्य चलेको छ।

जेनजीको नाममा अनियन्त्रित आन्दोलनकारीको निसानामा उद्योगी,  व्यवसायी परे। नेपालका डलर अर्बपति  बिनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, मिनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी, नेपाल उद्योग  वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर  गोल्छा, शंकर ग्रुप लगायतका ठूलादेखि  साना उद्योगी, व्यवसायीले सञ्चालन  गरेका उद्योग व्यवसायदेखि निजी घरमा आक्रमण भएको छ।

चौधरीको कार्यालय, निजी  निवास, सतुंगल, भैरहवामा रहेको  उद्योगमा आगजनी, तोडफोड र लुटपाट  भएको छ। त्यसैगरी,आइएमइ ग्रुपका अध्यक्ष ढकालको लगानी रहेको चन्द्रागिरी केबलकार, मौलाकालिका  केबलकारमा तोडफोड र आगजनी भएको छ।

त्यसैगरी, मिनबहादुर  गुरुङले सञ्चालन गरेको भाटभटेनी आगजनी, तोडफोड र सामान लुटपाट भएको छ। गोल्छाका उद्योग तथा घरमा आक्रमण भएको छ। यी प्रतिनिधि मुलुक घटना हुन्। अन्य ससाना व्यवसायीका होटल, रेष्टुरेन्टमा पनि लुटपाट भएको छ। व्यक्तिका निजी सम्पत्तिमा पनि तोडफोड  र आगजनी भएको छ।

निजी सम्पत्तिमा क्षति पुग्नु चिन्ताको विषय भएको पूर्व अर्थसचिव रामेश्वर  खनाल बताउँछन्। नेपाल चेम्बर अफ  कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्ले  तोडफोडप्रति सम्पत्ति नष्ट नगरी यसको  संरक्षण गर्न आग्रह गरेका छन्।

जिएनजीको आन्दोलन भड्किएर हिंसात्मक रूप लिएर सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड हुँदा अर्बौं रुपैयाँको  क्षति भएको छ। सोमबारको आन्दोलनमा  सरकारको दमनले १९ जनाको मृत्यु भएपछि आन्दोलन भड्किएको हो। प्रदर्शनकारीले मंगलबार दिनभर राज्य तथा  निजी सम्पत्ति तोडफोड गरेका थिए।

आन्दोलनकारीले सिंहदरबार, संसद् भवन,  राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, मन्त्री क्वाटर, सरकारी  कार्यालयहरू, प्रमुख राजनीतिक दलका नेताका निवास लगायतका व्यापारिक  घरानामा समेत तोडफोड र आगजनी गरे। राजधानीमा मात्र नभए मुलुकभरका  सरकारी कार्यालय, प्रदेश सरकार तथा स्थानीय निकायका कार्यालयमा पनि  तोडफोड र आगजनी भएको छ।

क्षतिको विवरण यकिन नभए पनि अर्बौं क्षति भएको अनुमान गरिएको छ। आन्दोलनकारीले सरकारी सम्पत्ति मात्र नभएर नेता तथा सरकारी कर्मचारीका निजी घरमा समेत तोडफोड  गरेका छन्। सार्वजनिक सम्पत्तिमा  तोडफोड जारी भए पनि नागरिक समाजका अगुवादेखि राजनीतिक नेतृत्वले संयमीत  बनेर तोडफोड नगर्न आग्रह गरेका छन्।

हजारौं क्विन्टल  चामल र चिनी लुटपाट

जेनजी आन्दोलनका  क्रममा मंगलबार साँझ लहानस्थित  खाद्य व्यवस्था तथा व्यापार कम्पनी  लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ। ठूलो समूहमा आएका उनीहरूले हजारौं क्विन्टल  चामल र चिनी लुटेका छन्।

कम्पनीका लहान शाखाका  सूचना अधिकारी अनिलकुमार  महतोले भने, ‘गोदाममा भण्डारण  गरिएको करिब सात हजार क्विन्टल जिरा मसिना चामल, ५००  क्विन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्विन्टल चिनी  लुटिएको छ।’

उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी  गरेपछि आन्दोलनकारीहरूले खाद्य  गोदाममा आक्रमण गरेका थिए। लुटपाटपछि कार्यालयको चारपांग्रे  सवारी साधनमा आगजनी गरिएको छ। हाल नेपाली सेनासहितका  सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन्।

प्रकाशित: २६ भाद्र २०८२ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App