अर्थ

सरकारसँग निजी क्षेत्र आशावादीः अध्यक्ष श्रेष्ठ

पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रम। तस्बिरः नागरिक

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहेपनि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्नेमा आशावादी भएको बताएका छन्।  

नवप्रवर्तन र युवामैत्री नीति बजेटका राम्रा पक्ष भएको पनि उनको भनाइ थियो। यद्यपि, उनले सम्पत्ति शुद्धीकरणको नाममा उद्योगी–व्यवसायीमाथि भएको धरपकडप्रति भने चिन्ता व्यक्त गरे। पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले भने, ‘देशलाई अन्तर्राष्ट्रिय नियमनकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्सको चेतावनीपछि कालोसूचीबाट बाहिर निकाल्ने नाममा सरकारले निजी क्षेत्रमाथि धरपकड बढाएको बताउँदै छ। हामी जिम्मेवार हुनुपर्छ, हामी माथि पनि औंला ठड्याउने काम भइरहेको छ। तर राज्यले पहिला सुन्ने अनि थुन्ने प्रक्रिया अपनाउनु पर्छ। अरुलाई क्षमादान दिने राज्यले किन व्यवसायीको हितबारे सोच्दैन?’

अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्याय सहितको अर्थ व्यवस्थाका लागि महासंघले आवाज उठाउने बताए। सोही कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रुपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाए। देशलाई कालोसूचीमा पर्नबाट जोगाउनको लागि भन्दै उद्योगी व्यावसायीमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाएर सरकाले त्यस्तो छनक दिएको उनको आशय थियो।

‘निजी क्षेत्रले पब्लिक पल्स (जनताको चाहना) बुझ्नुपर्छ। उपभोक्ताको चाहना संवोधन गर्नुपर्छ। हामी सबै अपराधलाई संरक्षण गर्न सक्दैनौं, तर सरकारबाटै कानुनको उलंघन हुँदा त्यसलाई जायज भन्न सक्दैनौं,’ उनले भने, ‘राज्य र प्रशासन निजी क्षेत्रप्रति निर्मम हुन्छ। अहिले ब्यूरोक्रेसी सत्तासँग नजिक हुन खोजेको र त्यही बाटोमा अगाडि बढेको छ। त्यसमा हामी गम्भीर हुनुपर्छ।’  

सरकारले सुशासन र भ्रष्टाचार विरुद्धको अभियानको नाममा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उनले महासंघको नेतृत्वलाई खबरदारी गरे। विदेशसम्म पनि संयन्त्र भएको महासंघले देशलाई कालोसूचीमा पर्नबाट जोगाउन कुटनीतिक पहल गर्नुपर्ने सुझाव पनि उनको थियो।

उनले संविधान संशोधनको मुद्दामा महासंघ प्रष्ट हुनुपर्ने बताउँदै अगाडि भने, ‘संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र लेखिँदासम्म त्यसलाई संसारले स्वीकार्दैन। तपाईं जति चिच्याउनुस्, लगानी आउँदैन। यसमा निजी क्षेत्र प्रष्ट हुनुपर्छ। तीनखम्बे आर्थिक नीतिले पनि लगानी बढाउँदैन। यी विषय सच्याउन पहल गर्नुपर्छ।’ अध्यक्ष श्रेष्ठ पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन्।

प्रकाशित: २५ जेष्ठ २०८३ १७:१४ सोमबार

#नेपाल उद्योग वाणिज्य महासंघ