अर्थ

निर्यात अनुदान नरोक्न नीजि क्षेत्रको माग

गतवर्ष निर्यात गरेका निर्यातकर्ताहरूलाई सरकारले दिंदै आएको अनुदान  रोक्का गरेको भन्दै मोरङका उद्योगी व्यवसायीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  शुक्रबार मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले लगायतले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।  

उद्योग विभागले असोज २३ गते सूचना प्रकाशित गरी गत वर्ष निर्यात गरिसकेका निर्यातकर्ताहरूको निर्यात अनुदान प्राप्त गर्न प्रक्रिया अगाडि नबढाउने सम्बन्धी सूचनाले निर्यात प्रबद्र्धनमा अबरोध सृजना गर्ने उनिहरूको भनाई छ ।  

भुपरिवेष्ठित मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी हुन कठिन चुनौतीको सामना गर्दै आएका नेपाली निर्यातकर्ताहरुले आर्थिक मन्दी र राजनीतिक संक्रमणका बीच पनि जेनतेन नेपालको निर्यातलाई निरन्तरता दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।  

निर्यात क्षेत्रको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्ने र सरकारका नीतिहरुप्रति उद्योगी व्यवसायीहरुमा अविश्वासको वातावरण समेत सिर्जना हुने सम्भावना देखिएको मोरङ उद्योग व्यापारसंघको विज्ञप्तिमा उल्लेख छ । गत वर्षको निर्यात अनुदानका लागि अनुसुची ३ बमोजिमको निवेदन दिने म्याद थप गर्नका लागि मोरङ उद्योग व्यापार संघले मागसमेत गरेको छ । यता उद्योग परिसंघ कोशी प्रदेशले निर्यातजन्य उद्योगहरूलाई धारशायी बनाउने मनासयले प्रकाशित गरेको सूचना तत्काल निश्किृय गर्नसमेत माग गरेको छ । 

प्रकाशित: २४ आश्विन २०८२ १९:४६ शुक्रबार