अर्थ

बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

वर्षौंदेखि सडक र पुलको अभावमा बिरामी पर्दा एम्बुलेन्ससमेत नपुग्ने सास्ती भोगिरहेका बर्दियाका ग्रामीण बस्तीमा चालु आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार योजना कार्यान्वयनको तयारी थालिएको छ।

पूर्वाधार विकास डिभिजन कार्यालय नेपालगञ्जमार्फत जिल्लाका विभिन्न सडक तथा पुल योजनाका लागि २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएसँगै प्राविधिक टोलीले मंसिर २ गते मङ्गलबार स्थलगत निरीक्षण गरेको हो।

ठेक्का प्रक्रिया अघि बढाउने पूर्वतयारीस्वरूप गरिएको निरीक्षणपछि डिभिजन प्रमुख लोकेन्द्रबहादुर खड्काले बाँसगढी-९ को थुम्नी र बारबर्दिया-९ को खैरेनी जोड्ने ग्याङ नदीको पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिए। उक्त पुलको ठेक्का प्रक्रिया छिट्टै अघि बढाइने उनको भनाइ छ।

बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुको पहलमा जनप्रतिनिधि र प्राविधिकसहितको टोली स्थलगत अध्ययनमा निस्किएको थियो। निरीक्षणका क्रममा सांसद थारुले ग्रामीण क्षेत्रमा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएकाले बजेट विनियोजन भएका योजना शीघ्र कार्यान्वयन गर्नुपर्ने बताए।

प्राविधिक टोलीले बाँसगढी नगरपालिका-२ स्थित घट्टेखोला र वडा नं. ३ स्थित अछारिया खोलामा पुल निर्माणका लागि स्थलगत निरीक्षण गरेको छ।

यस्तै, बाँसगढी-९ को माछागढ चोकदेखि थुम्नी गाउँसम्म सडक, बारबर्दिया नगरपालिका-९ को खल्ला कतर्निया र बोकलभार जोड्ने झर्नाहिया खोला तथा बारबर्दिया नगरपालिका-११ को सेमरहवा र फच्कहवा गाउँ जोड्ने जुरपानिया खोलामा पुल निर्माणका लागि पनि अध्ययन गरिएको छ।

डिभिजन प्रमुख खड्काका अनुसार डिपिआर बन्न बाँकी रहेका अन्य योजनाका लागि स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्न पत्राचार गरिएको छ। डिपिआर तयार नभएका योजनाको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमार्फत तयार गरिने उनले बताए।

विनियोजित २८ करोड ५० लाख रुपैयाँ वैकल्पिक सहायक विकास कार्यक्रम, स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना र सडक सुरक्षा तथा मर्मतसम्भार कार्यक्रममार्फत खर्च गरिनेछ।

त्यस्तै, स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलगायतबाट पनि काम अघि बढाइने जनाइएको छ।

निरीक्षणका क्रममा बाँसगढी नगरपालिका-३ स्थित अछारिया खोलामा पुल नहुँदा स्थानीयले भोग्नुपरेको कठिनाइ उजागर भएको थियो।

स्थानीय शुकदेव थारुले खोलामा पुल नहुँदा बिरामी पर्दा एम्बुलेन्स गाउँसम्म पुग्न नसक्ने र बिरामीलाई बोकेरै खोला तार्नुपर्ने बाध्यता रहेको बताए।

त्यसैगरी, बारबर्दिया नगरपालिका-९ स्थित झर्नाहिया खोलामा पुल नहुँदा आवतजावत र खेतीपातीमा समस्या भएको स्थानीय फत्तु थारुले बताए।

खोलापारि रहेको खेतमा पुग्न पाँच किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। प्रस्तावित योजना कार्यान्वयन भएपछि दैनिक आवतजावत, स्वास्थ्य सेवा र कृषि उपज ओसारपसार सहज हुने स्थानीयको अपेक्षा छ।

प्रकाशित: २ मंसिर २०८३ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App