नेपाल विद्युत् प्राधिकरणले केरौन सबस्टेसनका उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि कोशी प्रदेशका पाँच जिल्लामा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणको केरौन १३२/३३ केभी सबस्टेसन आयोजनाले सूचना जारी गर्दै शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको हो।
दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड इन्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लुप इन लुप आउट (एलआईएलओ) गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४ देखि दिउँसो १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ।
यस्तै, शनिबारको काम अर्नब चक्रवातको प्रभावका कारण सुरु हुन नसकेमा वा आंशिक रूपमा मात्रै सम्पन्न हुन सकेमा आइतबार बिहान ४ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ।
आइतबार पनि काम सम्पन्न हुन नसकेमा सोमबार बिहान ४ देखि १० बजेसम्मसमेत विद्युत् आपूर्ति बन्द हुन सक्ने सूचनामा उल्लेख छ।
प्राधिकरणले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा चाँडै सुचारु हुन सक्ने जनाएको छ।
विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
प्रकाशित: १४ कार्तिक २०८३ ०९:२२ शनिबार