अर्थ

पोखराका पर्यटन व्यावसायी भन्छन्: बिदामा घुम्ने पाहुना आउनै पाएनन्

आन्तरिक पाहुनालाई कृष्णभीर तगारो

सरकारले आइतबार पनि बिदा दिन थालेपछि कर्मचारीले सातामा दुईदिन सार्वजनिक बिदा पाउँछन्। त्यसबाहेक बिचबिचमा थपिने बिदा पनि पर्दै जाँदा अघिल्लो साता लगातार तीनदिन बिदा भयो। यो साता पनि पाँचदिन अवधिमा बिचमा एकदिन मात्र कार्यालय खुल्यो, नत्र चारदिन बिदा नै रह्यो।  

पोखराको पर्यटनको माहोल आन्तरिक पर्यटकको आउजाउको आधारमा तलमाथि भइरहन्छ। सामान्यतया सातामा एकदिन सार्वजनिक बिदा हुँदा पनि पोखरामा आन्तरिक पाहुनाको आगमन थपिन्थ्यो। त्यसपछि अहिलेको सरकारले सातामा दुईदिन बिदा दिएपछि त पर्यटन क्षेत्रले पर्याप्त मात्रामा आन्तरिक पाहुना भित्र्याउन सकेको थियो। सातामा दुईदिन सार्वजनिक बिदा दिँदा पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको भीड बढ्ने गरेको थियो। त्यसले व्यावसायीलाई पनि खुसी तुल्याएको थियो। सिजन वा अफसिजनमा पनि बिदा हुनासाथ आन्तरिक पाहुना पोखरा आइहाल्थे।  

तर, यो पटक त्यो अवस्था रहेन। पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने एकमात्र मुख्य स्थलमार्ग पृथ्वी राजमार्ग अहिले बन्द छ। राजमार्गको कृष्णभीरमा झरेको पहिरोले यतिबेला पोखराको काठमाडौंसँगको सडक सञ्जाल बिच्छेद छ। त्यसबाहेक मुग्लिन–नारायणगढ खण्डले पनि बेलाबेला झस्काइरहँदा पछिल्लो दुईसातादेखि राजमार्गको यात्रा अनिश्चित बनेको छ।  

राजमार्ग अवरुद्ध हुँदाको यो सकसको मारमा पोखराको पर्यटन क्षेत्र पनि परेको छ। यतिसम्मकी एकदिनको सार्वजनिक बिदामै पनि पोखरा हुँइकिने पाहुना अहिले लगातारजसो सातामै ३/४ बिदा हुँदा पनि पोखरा आउन पाएनन। राजमार्गको त्यो अवरोधले आन्तरिक पाहुना रोकिँदा यतिबेला पोखराको पर्यटन क्षेत्र सुनसान बनेको छ। यहाँको होटलको अकुपेन्सी निकै नै तल झरेको छ।

लामो बिदाका बेला जहिल्यै चम्किने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड यतिखेर सुनसान बनेको छ। राती अबेरसम्म चम्किने लेकसाइड अहिले साँझ पर्नासाथ सुस्ताउन थालेको छ। पोखरा घुम्न आउने तिनै आन्तरिक पाहुनालाई अहिले कृष्णभीर तगारो बनेको व्यावसायीको भनाई छ।  

‘पोखरामा पाहुना आउन कुनै बहाना नै चाहिने थिएन। सातामा एकदिन बिदा हुँदा पनि यहाँ पाहुनाको भीड बढेकै हुन्थ्यो। सातामा दुईदिन बिदा हुन थालेपछि आगमन झनै बढेको थियो। पछिल्लो समय त सातामै कम्तिमा तीनदिन लगातार बिदा पर्दा पर्याप्त पाहुना भित्रिुनपर्नेमा राजमार्गको अवरोधले आगमन पुरै शुन्यमा झार्यो,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘कृष्णभीरको पहिरो अहिले आन्तरिक पाहुनाका लागि तगारो नै बन्यो। यो महिनामा सातैपिच्छे कम्तिमा तीनदिन सार्वजनिक बिदा परे, तर, बिदाको सदूपयोग आन्तरिक पाहुनाले गर्न पाएनन्।’

पराजुलीका अनुसार पोखराको आन्तरिक पाहुनाको मुख्य हिस्सा काठमाडौंले ओगट्छ। पोखरामा भित्रिने आन्तरिक पाहुनामध्ये करिब ७० प्रतिशत हिस्सा काठमाडौंको रहेको उनले सुनाए।

‘पूर्वबाट आउने पाहुनाका लागि त चितवन हुँदै पोखरा आउन सहज छ। पश्चिमबाट आउनेलाई पनि समस्या छैन। तर, पाहुना आएनन। राजमार्ग अवरोधले रोकिएका त काठमाडौंका पाहुना मात्र हुन। अरुतिरका पाहुनाका लागि बाटो खुला छ, तरपनि पाहुना भित्रिएनन,’ उनले भने, ‘सिद्धार्थ राजमार्ग खुलै छ। बुटवल–नारायणगढ खण्ड पनि सहज छ। त्यस्तै नारागणगढ–मुग्लिन खण्ड पनि कहिलेकाँही बाहेक खासै समस्या छैन। तरपनि पाहुनाको आगमन हुन सकेन।’  

उनका अनुसार शनिबार मात्र सार्वजनिक बिदा हुँदा पनि शुक्रबार पोखरा आउने र शनिबार घुमेर फर्किने आन्तरिक पाहुना हुने गर्दथे। त्यसपछि आइतबार पनि बिदा थपिँदा त्यसको सबैभन्दा बढि लाभ पर्यटन क्षेत्रले नै लिएको थियो। तर, यो महिना त लगातार बिदा हुँदा पनि पाहुना भित्र्याउने बाटो नै नभएको उनले बताए।

‘सबैको पहुँचमा हवाई यात्रा हुँदैन। हवाईजहाजबाट आउजाउ गर्दा ठूलो रकम यात्राकै सकिन्छ। त्यसपछि खाने र बस्ने अतिरिक्त खर्च हुने गर्छ, त्यसले गर्दा महंगो पर्न जान्छ,’ उनले भने। उनका अनुसार यो सिजनमा निजी सवारीमा आउने पाहुना पर्याप्त हुन्थे। समूहमा भन्दा पनि निजी सवारीमा आएर घुमफिर गर्ने र फर्किने पाहुना हुने गरेकोमा अहिले ती सबै रोकिएको पराजुलीले बताए। ‘दुई र चारपांग्रे सवारीमा आउने पाहुना अहिले रोकिए। सार्वजनिक सवारीमा आउने त रोकिने नै भए,’ उनले भने,‘वैकल्पिक मार्ग नहुँदा समस्या भएको छ।’

अर्का पर्यटन व्यावसायी नरेश भट्टराई पनि लामो अवधिको सार्वजनिक बिदाको योपटक सदूपयोग हुन नपाएको बताउँछन। ‘स्थलमार्ग मार्फत संघीय राजधानी काठमाडौंसँगको सञ्जाल विच्छेद भएको छ। हवाई उडान बाहेक अरु विकल्प छैन। सबै पर्यटक बजेट अनुसार यात्रा गर्छन,’ उनले भने, ‘सरकारले आइतबार पनि बिदा गरेपछि लामो बिदामा पोखरा आउने र बसोबास गर्ने पाहुनाको आकार बढेको थियो। तर, अहिले आउजाउ रोकिएपछि आन्तरिक पर्यटकको अवस्था पनि शुन्यमा झरेको छ।’  

उनका अनुसार यो बेलाका लागि आयोजना गरिएका कतिपय भेला, बैठक पनि रोकिएका छन। ‘बाटोले गर्दा आन्तरिक पाहुना आउन पाएनन। सानो समूह भएर पोखरा आउने र बैठक गरेर फर्किने चलन थियो। यो पटक त हप्तैपिच्छे लामो बिदा भयो, तर, अहिले पाहुना भएनन,’ उनले भने, ‘हवाई पहुँच सबैसँग हुँदैन। अब राजमार्ग सहज भएर ठूला आकारका सार्वजनिक बस संचालन भएपछि मात्र आन्तरिक पाहुना आउँछन।’

व्यावसायीका अनुसार सातामा एकदिन मात्र सार्वजनिक बिदा हुँदा अधिकांश आन्तरिक पाहुना शुक्रबार बेलुकी पोखरा आउँथे। अनि घुमघाम गरेर शनिबार बेलुकी वा आइतबार बिहानै गन्तव्यको यात्रामा निस्कन्थे। आइतबार पनि बिदा थपिएपछि पाहुनाको पोखरा बसाई अवधि पनि थप एकरात बढेको थियो। तर, योपटक तीनदिनसम्म लगातार बिदा हुँदा पाहुना आउनै नपाएको उनीहरुको भनाई छ।

बाढीको त्रासले विदेशी पाहुना आउन नपाएको अवस्थामा आन्तरिक पाहुना आउँदा व्यवासायीलाई राहत मिल्ने अवस्था भएपनि अहिले आन्तरिक पनि आउन नपाएको होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले बताए। ‘बिदेशी त रोकिए नै, आन्तरिक पनि चलायमान हुन पाएनन। बिदेशी पाहुना रोकिएको यो बेला स्वदेशी भित्र्याउन सकेको भए व्यावसायीलाई सहज हुन्थ्यो। तर, तिनै स्वदेशी पाहुना पनि बाटोको अवरोधले रोकिए,’ उनले भने, ‘बिदाको यो बेला पोखराले पर्यटनमार्फत कुनै लाभ लिन सकेन। आन्तरिक पाहुनाबाट हुने लाभ समेत गुम्यो।’

व्यावसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा पछिल्लो समय करिब ४० प्रतिशत पुगिसकेको थियो। कुनै बेला त त्यो हिस्सा ८० प्रतिशतसम्म पनि पुग्ने गरेको उनीहरुको भनाई छ। सन् २००० को हाराहारीमा पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब ५ प्रतिशत मात्र रहेको थियो।  

प्रकाशित: २३ भाद्र २०८३ १७:५५ मंगलबार

पोखरा आन्तरिक पाहुना सार्वजनिक बिदा