अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’

पोखरा भन्छः हामीले विमानस्थल पो मागेको हो, पैसा खान भनेका हो र?

.

अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारिरह्यो । बारम्बारको माग र अनुरोधलाई पनि सरकारले बेवास्ता गरेपछि पोखराले २०६९ भदौमा आन्दोलन घोषणा गर्दै रिले अनशन थाल्यो । विमानस्थल बनाउन दबाब दिने उद्देश्यका साथ २०६९ भदौ ७ गतेदेखि पोखराले रिले अनशन पनि सुरु ग¥यो ।  

पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि टेन्ट टाँगेर पोखराले अनशन थाल्यो । झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए । कुनैदिन तीन त कुनैदिन दुइ चरण गरेर १ सय ५३ औं श्रृंखलामा अनशन तोडिएको थियो । अनशनमा यहाँका राजनीतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो ।  

 ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कहिँ कतै अनियमितता हुन्छ की भनेर निर्माणका क्रममा नियमन गरेको भए यो अवस्था नआउन सक्थ्यो । तर, रेखदेख गर्ने निकाय नै दामासाहीले लाभ लिन लागेको आशंका उब्जिएको छ।’

पोखराले विमानस्थल माग्नका लागि अनशन मात्र बसेन की विमानस्थल बनाउन दबाब दिनका लागि सिंहदरवार घेराउदेखि पोखरा विमानस्थलको उडान पनि रोकिएका थिए । हवाई टिकट बिक्रीमा रोक लगाउने लगायतका सर्वत्र दबाबमुलक गतिविधि पछि सरकारले बल्ल विमानस्थल बनाउन थालेको थियो ।  

पोखरेलीको तारन्तारको दबाबले निर्माण भएको त्यही पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरि भ्रष्टाचार मुुद्दा दायर गरेको छ । अख्तियारले विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिव सहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा यसअघि नै अनियमितता रहेको भन्ने विभिन्न आशंका बाहिरिएका थिए । त्यो आशंकालाई बल दिनेगरि यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मात्र नभई जुनैपनि ठूला पूर्वाधारमा अनियमितता हुन सक्छ । त्यसतर्फ ध्यान दिन आवश्यक रहेको यसले पुष्टि गर्छ ।’

पोखरेलीको मात्र नभई गण्डकी प्रदेशले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै निकै नै ठूलो अपेक्षा गरेको थियो । विमानस्थलका पूर्वाधार बनाउन थालेसँगै पर्यटन क्षेत्रले त लगानी पनि बढाएको थियो । यतिसम्मकी अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पोखराले सिधै पहुँच बिस्तार गर्ने भनेर पोखरा लगानीमा समेत हौसिएको थियो । तर, त्यही पूर्वाधारलाई अनियमितता गर्ने थलो बनाइएको भन्दै पोखराले दुखेसो पोखेको छ । 

‘हामीले त विमानस्थल बनाउनुपर्छ भनेर दबाब दिन अनशन पो बसेका थियौ । तर, राजनीतिक दलका नेतादेखि उच्च पदस्थ कर्मचारीले यसैलाई कमाई खाने माध्यम बनाएका रहेछन भन्ने देखिएको छ,’ विमानस्थल माग्दै आन्दोलन गर्दा अनशनको समेत अगुवाई गरेका पर्यटन व्यावसायी बासु त्रिपाठी भन्छन, ‘हामीले विमानस्थल बनाउँदा कसैलाई पनि अनियमितता गर भनेका होईनौ, हामी त विमानस्थल चाहिन्छ भनेर आन्दोलनमा होमिएका मात्र हौ । तर, उच्च पदस्थ पदाधिकारीले कमाउने माध्यम बनाएछन ।’  

समग्र गण्डकी प्रदेशका नागरिकमाथि अन्याय गर्दै उच्च पदस्थ व्यक्ति नै विमानस्थललाई कमाइ खाने माध्यम बनाएको यो प्रकरणबाट देखिएको उनले बताए । किनकी उच्च पदस्थ पदाधिकारीमाथि अनियमितताको आशंकामा भ्रष्टाचार मुद्दा दायर गरिएकोले पनि अनियमितताबारे शंका गर्ने ठाउँ रहेको उनले बताए ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरुदेखि नै संघीय सरकारले नचाहेको भन्दै त्यो बेला दबाब सिर्जना गरिएको थियो । ‘हामीले त विमानस्थल बनाउनका लागि दबाब दिएका हौ । त्यसका लागि झन्डै तीनमहिना अनशन बस्यौ, विमानस्थलको उडान रोक्यौ, सडकबाट गुहा¥यौं,’ उनले भने, ‘तर, हाम्रो यो विकासका मागलाई उच्च पदस्थ पदाधिकारीले कमाउने माध्यम बनाएका रहेछन् । राजनीतिक रुपमा सेटिङ मिलाएर कमाइ खाने भाँडो बनाइएको रहेछ । हाम्रो अनशनको अपमान गरिएको रहेछ ।’

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नै हुन्न भन्ने केन्द्रको सोँचाईलाई चिर्नका लागि बनाउन थालियो । तर, व्यक्तिगत लाभ लिने ठाउँ पनि बनाइएको रहेछ भन्ने अहिले देखिएको छ ।’ 

नियामक निकायले बेलैमा चाँसो नदिँदा विकास निर्माणका ठूला आयोजनमा कसरी भ्रष्टाचार हुन्छ भन्ने देखिएको उनले बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कहिँ कतै अनियमितता हुन्छ की भनेर निर्माणका क्रममा नियमन गरेको भए यो अवस्था नआउन सक्थ्यो । तर, रेखदेख गर्ने निकाय नै दामासाहीले लाभ लिन लागेको आशंका उब्जिएको छ,’ त्रिपाठी भन्छन्, ‘उद्देश्य अनुसार लगानी भए वा नभएको भनेर निगरानी गरेको भए यो अवस्था आउने थिएन । राज्यको लगानी हुने ठाउँमा उदासिनता देखिएका कारण यस्तो समस्या भएको हो ।’

पोखरा विमानस्थललाई कमाउने उद्देश्यका साथ काम थालेको आशंका गर्न सकिने उनले बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गलत थिएन । हाम्रो उद्धेश्य गलतका लागि थिएन । तर, पारदर्शी रुपमा काम नहुँदा यो समस्या निम्तिएको हो,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मात्र नभई जुनैपनि ठूला पूर्वाधारमा अनियमितता हुन सक्छ । त्यसतर्फ ध्यान दिन आवश्यक रहेको यसले पुष्टि गर्छ ।’

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पनि पोखरेलीले गरेको आन्दोलन र दबाबलाई संस्थागत भ्रष्टाचार गर्ने माध्यम बनाएको बताउँछन् । ‘पोखरेलीको त्यो लामो आमरण अनशन त तिमिले पैसा खाउ भनेर बाटो खोलिदिएको जस्तो पो देखियो,’ मुल्मीले भने, ‘पोखराले विमानस्थल बनाउन मात्र गरेको हो, पैसा खान कसैलाई भनेको त होईन ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुरु गर्दा देखि नै निर्माणका मोडल, संरचना र पारदर्शीताबारे प्रश्न उब्जेको भएपनि त्यसलाई सम्बोधन नहुँदा अहिलेको अवस्था आएको उनले बताए ।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पैसा आर्जन गर्ने मेसिन पो बनाइएको रहेछ,’ उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नै हुन्न भन्ने केन्द्रको सोँचाईलाई चिर्नका लागि बनाउन थालियो । तर, व्यक्तिगत लाभ लिने ठाउँ पनि बनाइएको रहेछ भन्ने अहिले देखिएको छ ।’ विमानस्थलबारे बारम्बार गलत काम भएको आशंका पहिल्यैदेखि उब्जेको भएपनि त्यसमा बेवास्ता गरिएकोमा बल्ल अहिले आएर अनुसन्धान भएको उनले बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ब्रम्हलुट गरिएको देखिएको छ । जे गरेपनि हुन्छ भन्ने मानसिकमा यो गरिएको रहेछ,’ उनले भने, ‘भ्रष्ट्राचारका लागि सञ्जाल नै खडा गरेको देखिएको छ ।’

‘पोखरेली माथि पूर्ण रुपमा विश्वासघात गरिएको रहेछ । हामीले विमानस्थल बनाउन भनेर दबाब दियौ । तर, उच्च पदस्थ नेतृत्वले कमाउने माध्यम बनाएको रहेछ ।’

मुल्मीले अझै पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन नसक्नुमा यहाँ केही प्राविधिक कमी कमजोरी रहेको र त्यसलाई सुधार नगरेसम्म सम्भव नभएको बताए । ‘अहिले पनि विमानस्थलले अन्तर्राष्ट्रिय उडानले गति लिएको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडानले गति लिन नसक्नुमा केही समस्या छन । अनिलकुमार सिन्हा आयोगले दिएको सुझावलाई कार्यन्वयन नगरेसम्म विमानस्थल चल्ने अवस्था रहन्न ।’

तत्कालिन अवस्थामा विमानस्थल निर्माणका लागि निर्माण सरोकार समितिका संयोजक समेत रहेका व्यवासायी विश्वशंकर पालिखे विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण देखि नै अनियमितताको आशंका रहेको बताउँछन् । ‘पोखरेली माथि पूर्ण रुपमा विश्वासघात गरिएको रहेछ । हामीले विमानस्थल बनाउन भनेर दबाब दियौ । तर, उच्च पदस्थ नेतृत्वले कमाउने माध्यम बनाएको रहेछ,’ उनले भने, ‘यसमा अझै गहन खोजविन जरुरी छ ।’

प्रकाशित: २१ मंसिर २०८२ १७:३८ आइतबार

अनियमितता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल