अर्थ

पोखरा महानगरले बाढी प्रभावितका लागि ४५ लाख सहयोग गर्ने

पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ।

जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए।

महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्ससहित राहत सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको उनले बताए।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने भनाइ छ।

राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताए।

बुधबार बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि पोखरा महानगरपालिकासहित यहाँका अन्य स्थानीय तहले पनि राहत सहयोग उपलब्ध गराएका छन्।

प्रकाशित: ११ भाद्र २०८३ १५:२८ बिहीबार