पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धनगर्ने उद्देश्यले गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन। उक्त अवसरमा पूर्व क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाएको व्यावसायीले बताएका छन्।
पोखरेली पर्यटन व्यावसायीको टोलीले पूर्वी शहर विराटनगर र इटहरिमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ। पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति र पोखरा सडक महोत्सवको आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले संयुक्त रुपमा पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि आयोजना गरेका हुन। पोखराले यो सिजनमा बढी भन्दा बढी आन्तरिक पर्यटकलाई पोखरा भित्र्याउने गरि प्रवर्द्धनात्मक गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन्।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पुर्वेलीलाई पोखरा आउन आग्रह गरे। पोखराको पहुँच सहज बनेको भन्दै उनले यात्रामा कुनै समस्या नरहेको बताए। ‘पोखरा अब सहज बनेको छ। पोखरा घुम्न आउन कुनै झन्झट छैन। केहीवर्ष अघिसम्म पोखराले पहुँचमा सास्ती खेप्नुपरेको थियो। जसले गर्दा पर्यटकलाई घुमघाममा निस्कन निरुत्साहित गरेको थियो,’ उनले भने, ‘अहिले त्यो समस्या छैन। यात्रामा कुनै झन्झट छैन।’
पोखरामा हुने सडक महोत्सव आन्तरिक पर्यटन माझ निकै नै लोकप्रीय भएकोले पनि पूर्वी क्षेत्रका पाहुनालाई पोखरामा बोलाउने गरि अभियान संचालन गरेको उनले बताए। ‘पोखराले आन्तरिक पर्यटनमार्फत आर्थिक लाभ लिएको छ। आन्तरिक पर्यटकले नै पोखरालाई गुन लगाएका छन,’ उनले भने। व्यावसायीका अनुसार पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत रहेको छ।
सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए। मौसम लगायत सबै दृष्टिकोणबाट पोखरा घुम्न यतिबेला अनुकुल भएको जनाउँदै उनले पोखरामा अंग्रेजी नयाँवर्षका अवसरमा हुने सडक महोत्सवमा सहभागिता जनाउन त्यहाँका व्यावसायीमार्फत पूर्व क्षेत्रका पाहुनालाई अनुरोध गरेका थिए।
पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले आगामि पुस १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराएका थिए। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँवर्षको गन्तव्यस्थलका रुपमा विकास गरेको पनि उनले बताए।
गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगादौड प्रतियोगिता लगायतका गतिविधि आयोजना गरिनेछ।
प्रकाशित: २८ मंसिर २०८२ १८:५१ आइतबार