अर्थ

‘४५ खर्ब लगानीमाथि खेलबाड’

यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर बजार बन्द, जाँचबुझ गर्न सेवोनको निर्देशन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सोमबार सेयर कारोबार बन्द भएको घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।

सेबोनले सेयर कारोबार नै रोक्नुपर्ने गरी उत्पन्न परिस्थितिको अध्ययन तथा जाँचबुझ गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गर्नुपर्ने सुधारका उपायसहित एक साताभित्र प्रतिवेदन बुझाउन नेप्सेलाई निर्देशन दिएको हो।

‘नेप्सेलाई सेयर कारोबार रोक्नुपर्ने गरी उत्पन्न जटिल परिस्थितिका सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन आगामी असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिइएको छ,’ सेबोनले भन्यो। ७२ वटा सेयर ब्रोकरको सर्भर रहेको ‘डेटा हब’को प्राविधिक पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण (साइबर आक्रमण) भएपछि सोमबार सेयर कारोबार सेवा बन्द गर्नुपरेको थियो।

सेबोनले सेयर कारोबार बन्द भएको जानकारी पाएपछि प्राविधिकलगायत समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पत्ता लगाउन उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ। सेबोनले अनुगमन टोलीको सुझावका आधारमा आगामी दिनमा सेयर बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउने काम अघि बढाउने जनाएको छ।

सेयर कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) होस्टिङ पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर बजार नै बन्द गर्नुपरेको थियो। होस्टिङ कम्पनी ‘डेटा हब’ प्रालिका अनुसार आइतबार बिहान करिब साढे ५ बजेतिर होस्टिङ पूर्वाधारमा भएको आक्रमण पहिचान गरिएको थियो। नेप्सेबाट धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति पाएका व्यवसायीहरूको सर्भर राखिएको डेटा हबमा साइबर आक्रमण भएपछि सेयर कारोबार रोकिएको थियो।

यस्तो आक्रमणपछि नेप्सेका अन्य कारोबार प्रणालीमा असर नपरोस् भन्ने उद्देश्यले सोमबार सेयर कारोबार स्थगन गरिएको थियो। नेप्सेले आइतबार बिहान ४ बजेसम्मको ब्याक–अप सुरक्षित रहेको जनाएको छ। सम्भावित थप जोखिम न्यूनीकरण गर्न टिएमएस प्रणालीलाई हाल पूर्ण रूपमा ‘अफलाइन’ राखिएको डेटा हबले जनाएको छ। कम्पनीका अनुसार बिहान ४ बजेसम्मको प्रणालीको पछिल्लो सम्पूर्ण ब्याक–अप सुरक्षित गरिएको छ।

नेप्से तथा अन्य वित्तीय प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएकाले साइबर आक्रमण अन्य सञ्जालमा फैलिन नदिन उच्च सतर्कता अपनाइएको डेटा हबले जनाएको छ। घटनाको पूर्ण असर मूल्यांकन गर्न र प्रणालीलाई सुरक्षित बनाउन फरेन्सिक अनुसन्धान भइरहेको डेटा हबको दाबी छ। प्रणालीलाई पुनः अनलाइनमा ल्याउनुअघि फरेन्सिक जाँच र आवश्यक सुधारात्मक उपाय अपनाउन केही समय लाग्ने भन्दै डेटा हबले लगानीकर्ता, नेप्से र सम्बन्धित अन्य सरोकारवाला निकायलाई धैर्य गर्न आग्रह गरेको छ। नेप्सेको कमजोरीले आफूहरूको सम्पत्तिमाथि खेलबाड भएको लगानीकर्ताको भनाइ छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेप्सेको कमजोरीका कारण करिब ८० लाख लगानीकर्ताको ४५ खर्ब रुपैयाँ सम्पत्तिमाथि खेलबाड भएको बताए। 

उनले अहिलेसम्म नभएको यस्तो समस्या नेपालको पुँजी बजारका लागि गम्भीर भएको बताए। बजार खुल्ने समयमा अचानक सेयर कारोबार स्थगित भएपछि लाखौं लगानीकर्ता अन्योलमा परेका थिए। एसोसिएसनले समेत कारोबार स्थगन गर्न नेप्सेमा निवेदन दिएको थियो।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को दफा (१) अनुसार सेयर कारोबार स्थगित गरेको जनाएको छ। तर ब्रोकरहरूको कारोबार प्रणाली व्यवस्थापन गर्दै आएको वाइको नेपालले स्टक ब्रोकर एसोसिएसनलाई पठाएको पत्रमा डेटा हबबाट प्राप्त आधिकारिक जानकारी उद्धृत गर्दै डाटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएको उल्लेख गरेको छ। उक्त घटनाबाट टिएमएस, सिडिएससीसँग सम्बन्धित प्रणाली, भुक्तानी गेटवे तथा अन्य जोडिएका सेवा प्रभावित भएको पत्रमा उल्लेख छ।

थापाथलीस्थित डाटा हब प्रालिमा आइतबार बिहानैदेखि प्राविधिक समस्या आएको थियो। त्यहाँ नेप्सेमा सूचिकृत ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीको सर्भर राखिएको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार यो समस्या नेप्सेको केन्द्रीय प्रणालीमा आएको होइन। डाटा हबमा सर्भर राखेका ७२ ब्रोकर कम्पनीको प्रणालीमा मात्र समस्या आएको हो।

नेप्सेमा ९० वटा ब्रोकर सूचीकृत छन्। ७२ वटा ब्रोकरले कारोबार गर्न नसक्ने स्थिति भएपछि बाँकी १८ वटा ब्रोकरका लागि मात्र सेयर बजार चलाउनुको कुनै औचित्य नरहने देखिएपछि बन्द गरिएको नेप्सेको दाबी छ। नेप्सेले सेयर कारोबार स्थगनका कारण लगानीकर्तामा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

प्रकाशित: ६ आश्विन २०८३ ०८:३९ मंगलबार