बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।
सम्बन्धित खातावालाको पैसा चोरी हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक र सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक प्रणाली सञ्चालक तथा रेमिट्यान्स कम्पनीले शनिबारसम्मका लागि आफ्ना वेबसाइट बन्द (डाउन) गरेका छन्। केही वित्तीय संस्थाले वेबसाइटलाई अपडेट गरी पुनः सञ्चालन गरेको पनि जनाएका छन्।
राष्ट्र बैंकको आधिकारिक वेबसाइट नै बन्द भएपछि बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा केही असुविधा भएको छ। राष्ट्र बैंकको वेबसाइट नचलेपछि शुक्रबार र शनिबारका लागि सार्वजनिक हुँदै आएको विदेशी मुद्रा विनियमय दर हेर्न समेत अप्ठेरो भएको छ। वेबसाइट बन्द गरेपछि राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर अन्य सामाजिक सञ्जालबाट मात्र सार्वजनिक गरेको थियो।
बैंकहरूले आफ्ना मुख्य वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाइसी अपडेट,कतिपय भुक्तानी प्रणालीका सेवासमेत प्रभावित भएको बैंकरहरूले बताएका छन्।
सम्भावित सुरक्षा जोखिम न्यूनीकरणका लागि पूर्वसावधानी अपनाउँदै केही समय अस्थायी रूपमा वेबसाइट बन्द गरिएको गरिएको र यसबाट हाललाई सर्वसाधारणको रकम र सूचनामा कुनै जोखिम नरहेको राष्ट्र बैंक र बैंकरहरूले दाबी गरेका छन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पिएचपीको जोखिम पहिचान भइसकेपछि भोलि कुनै समस्या पर्न सक्ने सम्भावित सुरक्षाका कारण वेबसाइट बलियो बनाई अपडेट गर्नुपर्ने आवाज उठेकाले राष्ट्र बैंकको वेबसाइट अस्थायी रूपमा बन्द गरिएको जानकारी गराए। उनले शनिबारसम्मका लागि वेबसाइट बन्द गरिएको जानकारी दिए।
सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर सम्बन्धित बैंकिङहरूलाई आफ्ना वेबसाइट बन्द गर्न मात्र भनिएको जानकारी गराउँदै उनले पिएचपीको समस्याले बैंक तथा वित्तीय संस्थाहरूको नियमित डिजिटल बैंकिङ कारोबारमा कुनै समस्या नरहेको स्पष्ट्र पारे। ‘तर, वेबसाइट भन्नेबित्तिकै अपडेट नहुन सक्छ, त्यसो हुँदा अपडेट नहुन्जेलका लागि राष्ट्र बैंकको अनलाइन सिस्टम पनि डाउन अर्थात् इन्टरनेटबाट विच्छेद गरेर राखिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले भने, ‘यसलाई अपडेट गर्नका लागि प्राविधिकहरू लागिरहेका छन्।’
वेबसाइट बन्द भएपछि राष्ट्र बैंकले शुक्रबारको विदेशी विनिमय दरलाई पनि सामाजिक सञ्जालबाट सार्वजिनक गरेको थियो। जसका लागि राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तिय संस्था, पिएसपी तथा रेमिट्यान्स कम्पनीहरूलाई शुक्रबार अत्यन्त जरूरी सूचना जारी गर्दै आफ्ना सिस्टमलाई इन्टरनेटबाट जोडिनका लागि सतर्क रहन भनिसकेको जानकारी गराएको छ।
यसै गरी, राष्ट बैंकलाई गरिने रिपोर्टिङलाई पनि अफलाइन गर्न भनिएको राष्ट्र बैंकले जानकारी गराएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीका लागि अस्थायी रूपमा यस्तो गरिएको हो, वेबसाइट ह्याक भएको होइन,’ प्रवक्ता पौडेलले भने, ‘सर्वसाधारणको बैंक खातामा रहेको रकम जोखिममा परेको पनि होइन, सूचना लिक भएको पनि होइन।’
अहिलेको पिएचपी समस्याले बैंकहरूको वेबसाइटमा रहेको सर्वसाधारणको सूचनाको पहुँचमा जोखिम हुन सक्ने सम्भावित सुरक्षा जोखिमबाट बच्नका लागि मात्र यसमा विशेष सतर्कता अपनाउनुपर्ने भएकाले वेबसाइट बन्द गरिएको राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित बैंकरहरूका अनुसार बैंकहरूले वेबसाइटमा खातावाला तथा सर्वसाधारणको सूचना भएका ठाउँ होल्ड गरेर राखेका छन्। जसले अपडेट गरिसके, उनीहरूले वेबसाइट चलाइसके, केही अपडेट गर्दै छन्। यसबाट बैंकहरूको कोर बैंकिङ प्रणालीमा कुनै समस्या नरहेको सम्बन्धित बैंकरहरूले जनाकारी गराएका छन्।
वेब प्रविधि (पिएचपी) मा विश्वब्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंक, वित्तीय संस्थाहरूमा मात्र नभएर अहिले देशभरका सबै सरकारी कार्यालयको वेबसाइटहरू बन्द गरिएको छ।
सम्बन्धित बैंकरहरूले दुइटा वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्ना पिएचपीमा आधारित वेबसाइट फिक्स गर्ने र अपडेट गर्ने काम संसारभरि नै भइरहेको बताएका छन्।
उनीहरूकाअनुसार पिएचपीमा बनेका वेबसाइटहरूलाई मात्र असर पारेको छ। जसले वेबसाइटको भर्सन अपडेट गर्नुपर्ने भए गरेका छन् र नगरेकाले सटडाउन गरेका छन्। यसै क्रममा नबिल बैंकले प्रमुख वेबसाइटहरू अपडेट गरेर पुनः सुरु गरिसकेको छ। अनलाइन सर्भिसमा पनि कुनै अवरोध नरहेको र बैंकिङ सिस्टममा कुनै समस्या नरहेको नबिल बैंकले जनाएको छ।
‘यो जोखिम पहिचान भइसकेपछि अपडेट गरेनौं भने ह्याकरले भोलि कन्ट्रोलमा लिन सक्छ र संवेदनशील सूचना चोर्न सक्छ भन्ने हो, अहिले नै कुनै संस्थालाई जोखिममा पारिसकेको वा कसैको डेटा लिक गरिसकेको भन्ने होइन,’ बैंकर संघका एक सदस्यले भने, ‘तर, विश्वव्यापी रूपमा नै यो समस्या आइसकेपछि नेपालका बैंकहरू पनि समयमै सतर्क भएर वेबसाइट अपडेट गर्न वा नगरून्जेल डाउन गरेर बसेका हुन्।’
संसारभरका बैंकहरूले पनि आफ्ना यस समस्यालाई लिएर सबै सेवा भने बन्द गरेका होइनन्। पिएचपीमा आधारिक सेवाहरूको सेक्युरिटी अपडेट गरेसँगै हाललाई रोकिएका फिचरहरू फेरि सञ्चालनमा आउने बताएका छन्।
एआईको सहयोगमा वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने पिएचपी प्रोग्रामिङ ल्याङ्वेजमा गम्भीर सुरक्षा त्रुटि पत्ता लागेको हो। जसकारण विश्वभर साइबर सुरक्षा सतर्कता बढाइएको राष्ट्र बैंकले जनाएको छ। नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई, एनआइसी एसिया बैंकलगायतले पनि सूचना जारी गर्दै प्राविधिक समस्या देखिएको जानकारी दिएका छन्।
के हो पिएचपी? यसले किन विश्वव्यापी साइबर सुरक्षामा जोखिम निम्त्यायो?
एक दशकभन्दा बढी समयदेखि इन्टरनेटको ठूलो हिस्सा धानेको प्रविधिमा रहेको गम्भीर त्रुटि पत्ता लाग्न सकेको थिएन। अहिले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को मद्दतले यसलाई बाहिर ल्याएपछि विश्वव्यापी रूपमा साइबर सुरक्षा सतर्कता अपनाइएको हो। वेब प्रविधि (पिएचपी)मा आधारित वेबसाइटमा यो जोखिम ‘पिएचपी’ नामक प्रोग्रामिङ भाषामा रहेको छ। जुन सन् २००० को दशकदेखि अन्तर्राष्ट्रिय स्तरमा वेबसाइट बनाउन प्रयोग हुँदै आएको छ। विश्वभरिका सरकार र साइबर सुरक्षा निकायहरू बुधबार यो तथ्य बाहिरिएपछिको सम्भावित सुरक्षा जोखिमको प्रभाव नियन्त्रण गर्न जुटेका छन्।
उनीहरूले संसारभरका वेबसाइट सञ्चालकहरूलाई यस्तो सम्भावित सुरक्षा जोखिमबाट बच्न नयाँ आपत्कालीन ‘फिक्स’ (अपडेट) इन्स्टल गर्न वा आफ्ना प्ल्याटफर्महरू अफलाइन राख्नसमेत आग्रह गरेका छन्।
साइबर सुरक्षा कम्पनी विजका अनुसन्धानकर्ताहरूले यो जोखिम पत्ता लगाएका थिए। उनीहरूले यसलाई एआईद्वारा पत्ता लगाइएको हालसम्मकै सबैभन्दा गम्भीर त्रुटि भनेका छन्। जोखिम पत्ता लगाउन प्रविधि प्रयोग गरिएको कम्पनी ओपनएआईले यसलाई पछिल्लो समयको सबैभन्दा प्रभावकारी सुरक्षा समस्या भनेको छ।
के थियो त्रुटि?
अधिकांशले पिएचपी (हाइपरटेक्ट्स प्रिप्रोसेसर) को नाम नसुनेका हुन सक्छन्, तर उनीहरूले पक्कै पनि दैनिक रूपमा यसको प्रयोग गरिरहेका हुन्छन्। अनलाइन सप, विकिपिडिया र वर्डप्रेसलगायत ठूलो संख्याका प्ल्याटफर्महरू पिएचपीबाटै चल्छन्।
एआईले यस्ता आक्रमणहरूलाई अझ सजिलो र छिटो बनाउन सक्ने भएकाले यो त्रुटिले लाखौंलाख वेबसाइटलाई असर गर्न सक्ने अनुमान गरिएको छ। यदि ह्याकर वा कुनै देशले यो त्रुटिलाई हतियारका रूपमा प्रयोग गरेर वेबसाइटबाट निजी डाटा कब्जा गरे भने त्यो विनाशकारी हुने जोखिम पनि रहन्छ। त्यसैले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी वेब प्रविधि (पिएचपी)मा आधारित वेबसाइटहरू केही समयका लागि अस्थायी रूपमा बन्द गरिएको हो।
कुनकुन वेबसाइट प्रभावित भए?
वेब प्रविधि (पिएचपी)मा आधारित वेबसाइटमा देखिएको सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट नै बन्द गरि दिएको यस चेतावनीले गेमिङ प्ल्याटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरिका सेवा अवरुद्ध गरेको छ। यसमा अनलाइन विश्वकोष विकिपिडिया सञ्चालन गर्ने संस्था ‘विकिमिडिया’ पनि समावेश छ, जसले सावधानी अपनाउँदै आफ्ना केही प्रणाली बन्द गरेको छ।
यो चेतावनीपछि नेपाल सरकारले मात्र नभएर फिनल्यान्डको सरकार, एडिनबर्ग काउन्सिल र बिबिसीले आफ्ना साइट र पेजहरू अफलाइन गरेका छन् भने नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले पनि आफ्नो वेबसाइट बन्द गरेको छ।
जेनेभा विश्वविद्यालयको वेबसाइट पनि बुधबारदेखि नै बन्द गरिएको थियो। स्कटल्यान्डका काउन्सिल र स्वास्थ्य बोर्ड लगायत कैयौं सरकारी तथा सार्वजनिक संस्थाहरूले पनि आफ्ना वेबसाइट अफलाइन गरेका छन्। सोही बमोजिम अहिले नेपालमा पनि सबै सरकारी वेबसाइटहरू बन्द गरिएका छन्। केही विशेषज्ञहरूले कम सुरक्षा स्रोतसाधन भएका साना संस्थाहरूका राम्रोसँग मर्मतसम्भार नगरिएका वेबसाइटहरू यसबाट अझ बढी जोखिममा पर्न सक्ने चेतावनी समेत दिएका छन्।
त्रुटि सार्वजनिक भएपछि के भयो?
बुधबार पिएचपी प्ल्याटफर्मका डेभलपरहरूले वर्षौंदेखि आफ्नो सफ्टवेयरमा लुकेर रहेको जोखिमलाई समाधान गर्न ‘प्याच’ (अपडेट) जारी गरेका छन्। कम्पनीले ‘सबै पिएचपी प्रयोगकर्ताहरूलाई तत्काल अपडेट गर्न कडा आग्रह गरिन्छ’ भनेको छ। विश्वभरिका सरकारी कार्यालयहरू र सुरक्षा संस्थाहरूले पनि वेबसाइट सञ्चालकहरूलाई आफ्ना प्ल्याटफर्म सुरक्षित गर्न सचेत गराएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पिएचपी प्रयोग गर्ने सबै संस्थाहरूलाई तत्काल ‘प्याच’ गर्न नसके आफ्ना सिस्टम अफलाइन राख्न निर्देशन दिएको छ।
एआईले देखिएको यो त्रुटिले सिस्टमको डाटाबेसको दुरुपयोग गर्न सिधा बाटो दिन सक्ने जोखिम बढाएको छ। उनीहरूका अनुसार यी जोखिमहरू यति गम्भीर छन् कि अमेरिकी सरकारका विभाग र एजेन्सीहरूभरि तत्काल प्याच गर्न आवश्यक छ।
यसैगरी, बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले पनि यस्तै सल्लाह दिँदै सम्बन्धित संस्थाहरूलाई ‘ह्याकरले इन्स्टल गरेका ब्याकडोर’ जाँच गर्न भनेको छ। युरोपेली संघ र अस्ट्रेलियाका समकक्षी निकायले पनि यसै गरी आफ्ना संयन्त्रलाई जोखिमबाट बच्न सचेत गराएको छ। त्यस्तै, जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले पनि आफ्ना नागरिहरूलाई जापानका सार्वजनिक रूपमा उपलब्ध वेबसाइटहरू पिएचपीमा चलेका छन् कि छैनन् भनेर जाँच्न आग्रह गरेकी छन्।
सुरक्षित हुन के गर्न सकिन्छ?
वेबसाइट सञ्चालकहरूलाई पिएचपीको पछिल्लो संस्करणमार्फत आफ्ना वेबसाइट सुरक्षित गर्न आग्रह गरिएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले आगामी साताहरूमा ‘उच्च सतर्कता’ अपनाउन र सफ्टवेयर विक्रेताहरूबाट आउने अपडेटहरूलाई पनि नजिकबाट नियाल्न आग्रह गरेको छ। यसको मुख्य जिम्मेवारी वेबसाइट सञ्चालकहरूमाथि छ तर प्रयोगकर्ताहरूले पनि प्रभावित सेवाहरूले जारी गर्ने कुनै पनि सुरक्षा सल्लाह (जस्तै पासवर्ड परिवर्तन गर्ने अनुरोध) प्रति सतर्क रहनुपर्नेछ। सम्बन्धित सरोकारवालाहरूले अब यस घटनाको प्रचारको फाइदा उठाउँदै आउन सक्ने फिसिङ सन्देशहरूप्रति पनि सचेत रहन चेतावनी दिएका छन्।
प्रकाशित: ७ कार्तिक २०८३ १०:३१ शनिबार