देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले बुधबार एक विज्ञप्ति जारी गरी डिजेल, पेट्रोललगायतका इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन्।
गत चैत २ गते डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ बढेपछि महासंघले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजन गर्न माग गरेको थियो।
यसबिचमा फेरि नेपाल आयल निगमले आजदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर थप १५ रुपैयाँ वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ।
मूल्य समायोजनसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पर्ने भएको छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल डिपोलाई तोकेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ। ‘यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको’ निगमले जनाएको छ।
यातायात व्यवस्था विभागले विसं २०६५ देखि बनेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरे पनि भाडा समायोजन हुन नसकेको व्यवसायीले गुनासो गरेका छन्।
विभागले यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, मालवाहकतर्फ तराईमा ८.८१ प्रतिशत र पहाडमा १४.२९ प्रतिशत भाडा समायोजन गर्न मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले भने भाडा समायोजन नगर्दा व्यवसायीहरू मर्कामा परेको महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताएका छन्।
महासंघले अब धेरै दिन घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने र सेवा बन्द गर्नुपर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिस भएबमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प अपनाउनुपर्ने बताएको छ।
महासचिव गौतमले भाडा समायोजन नभए वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसारको भाडा लिई सेवा सञ्चालन गर्न देशभरका यातायात व्यवसायीलाई अनुरोध गर्ने समेत बताएका छन्।
प्रकाशित: १२ चैत्र २०८२ ०६:४८ बिहीबार