आन्तरिक राजस्व कार्यालय पोखराले यहाँ संचालित प्याराग्लाइडिङ कम्पनिबाट २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर असुल्ने भएको छ। कर छलेको भन्दै आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि कम्पनिसँग अतिरिक्त रकम असुल्ने गरि कारवाही गरेको हो।
आन्तरिक राजस्व कार्यालय पोखराकी सूचना अधिकारी रेनु तिम्सिना भट्टराईले प्याराग्लाइडिङ कम्पनिले अघिल्लो आर्थिक वर्षभित्र गरेको कारोबार मध्ये नियमित बिलबिजकको बाहेक कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर तिनुपर्ने बताईन।
‘पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्दै उजुरी परेपछि आन्तरिक राजस्व कार्यालयले छानविन थालेको थियो। त्यसपछि ती कम्पनिले थप रकम तिनुपर्ने देखिएको हो,’ उनले भनिन, ‘औषतमा कम्पनिले ५ लाख रुपैयाँ हाराहारीमा थप कर तिर्नुपर्ने हुन्छ। त्यसको आधारमा कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर निर्धारण भएको हो।’
पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि संचालनमा रहेका छन। भट्टराईका अनुसार पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि दर्ता रहेपनि सबै कम्पनिले व्यावसाय नगरेकोले व्यावसाय नगर्ने कम्पनिबाहेकले अतिरिक्त कर तिर्नुपर्ने उनले बताईन।
‘हुन त ५३ वटा कम्पनि दर्ता रहेछन। तर, केहीले व्यावसाय गरेका थिएनन। जो जति व्यावसायमा सक्रिय थिए, ती सबैजसो कम्पनिले अतिरिक्त रकम तिर्नुपर्ने गरि कर रकम थपिएको हो,’ उनले भनिन।
उनका अनुसार एकैजना व्यक्ति एक भन्दा बढी कम्पनि दर्ता गरेर संचालन पनि गरेका थिए। उनका अनुसार पोखरामा संचालित सबै प्याराग्लाइडिङ कम्पनिका अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्मका सबै काजजात लिएर अनुसन्धान गरिएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्ने उजुरी परेको थियो। त्यसपछि आन्तरिक राजस्व कागजात कब्जामा लिएर कार्यालयले अनुसन्धान सुरु गरेको थियो,’ उनले भनिन, ‘प्याराग्लाइडिङ कम्पनिको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मार्फत सबै कम्पनिका कागजात लिएर अनुसन्धान गरिएको हो।’ ना मार्फत कागजात लिएपनि अतिरिक्त कागजात सम्बन्धित कम्पनिबाट लिएका हौ।’
उनका अनुसार कतिपय कम्पनिले कारोवारको रेकर्ड नराखेको, कर नबुझाएको, ना ले तोकिदिएको कोटा संख्या अनुसार उडान गरेको तर, कर छली गरेको पाइएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिहरुले कर छलेको देखियो। धेरैजसो कम्पनिले कर छलि गरेको पाइएकोले उनीहरुलाई कारवाही स्वरुप कम रकम थपिएको हों,’ उनले भनिन, ‘कतिपयले त अझै पत्र बुझ्न मानेका छैनन्। हामीले प्राप्त गरेको तथ्यांकसँग उनीहरुको कारोवार मिलेको छैन।’
प्याराग्लाइडिङ कम्पनिहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित सबै कम्पनिको फाइल लिएर अनुसन्धान गरेको थियो। ‘ना को नयाँ कार्यसमिति आउनुअघिको केही समय समस्या थियो। प्याराग्लाइडिङ कम्पनिले उडान गर्ने पर्यटकसँग लिएको मुल्यकै बारेमा पनि विवाद थियो। त्यो बेला सही व्यवस्थापन हुन सकेको थिएन,’ उनले भने, ‘गत भदौ पछि बल्ल नयाँ कार्यसमिति आयो र व्यवस्थापन सुरु भएको हो। बीचमा केही समस्या भएकै हो।’
अध्यक्ष केसीका अनुसार अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्दा एकजना व्यक्तिले बढीमा ८५ सय र कम्तिमा ७५ सय रुपैयाँ तिरे पुग्छ। दुईथरी मुल्य हुँदा पनि करको रकममा फरक पर्न जाँदा अन्योल भएको उनले बताए। ‘कम्पनिले लिँदै नलिएको रकमको कर तिर्नुपर्दा सबैजसो कारवाहीमा परेको जस्तो देखिएको छ,’ उनले भने, ‘कम्पनिले ७५ सय रुपैयाँका दरले लेनदेन गरेका छन। तर, आन्तरिक राजस्व कार्यालयले ८५ सय रुपैयाँका दरले कर लगाएरै छाड्यो।’ अधिकतम र न्यूनतम मुल्यमा १ हजार रुपैयाँ फरक पर्दा पनि कर विवरणमा फरक पर्न गएको उनले बताए।
‘कतिपयले ७५ सय रुपैयाँ लिएर त्यही अनुसार कर तिरेका थिए। केहीले ८५ सय रुपैयाँ लिएर त्यसै अनुसारको हिसाब बुझाएका छन। यो बारेमा हामीले जानकारी गराएका हौ। अधिकतम र न्यूनतम मुल्यमा केही अन्तर हुँदा पनि अन्योल परेकै हो,’ अध्यक्ष केसीले भने, ‘तर, ८५ सय रुपैयाँका दरले तिनुपर्दा सबै कम्पनिमाथि दोष थपियो।’ केही कम्पनिले भने आर्थिक कारोबार पारदर्शी नगरेकोले कारवाही हुनु स्वभाविक भएको उनले बताए।
पछिल्लो समय आर्थिक कारोबार चुस्त दुरुस्त गर्नका लागि सबै कम्पनिलाई कडाई गरेको र कर तिरेको रसिद अनुसार बोर्डिङ पास दिएर मात्र उडान गरिरहेकोले समस्या नरहेको उनले बताए। अफसिजनको यो बेला पोखराको आकासमा प्याराग्लाईडिङ उडान गर्ने पर्यटकको संख्या दैनिक ५० को हाराहारीमा छन। तर २ सय ५० जना पाइलट रहेकोले धेरैले काम नपाएको पनि ना ले बताएको छ।
प्रकाशित: १५ श्रावण २०८२ १७:४९ बिहीबार