अर्थ

चियाको मुनासँगै पलाएको आशा : वर्ष दिनमै साढे चार अर्बको निर्यात

सुसमाचार

मुलुक अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर रहेको अवस्थामा चिया खेतीले भने आशा जगाएको छ। नगदे बाली चिया खेती फस्टाएपछि मुलुक चियामा आत्मनिर्भर मात्र भएको छैन, एक वर्षमै करिब साढे चार अर्ब रूपैयाँको चिया निर्यात भएको छ। वर्ष दिनमै ९६ करोड ५८ लाख रूपैयाँको चिया निर्यात बढेको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक वर्षको अवधिमा चार अर्ब ५९ करोड रूपैयाँको एक करोड ५५ लाख ९८ हजार किलो चिया निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ६२ करोड ५० लाख रूपैयाँको चिया निर्यात भएको थियो। चिया खेतीको विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले निर्यात बढेको चिया तथा कफी विकास बोर्डले जनाएको छ।

नेपालका पहाडी क्षेत्रमा उत्पादन भएको चिया गुणस्तरीय भएकाले विश्व बजारमा माग रहेको चिया तथा कफी विकास बोर्डका उपनिर्देशक  डा. लक्ष्मण पोखरेले बताए। पोखरेलका अनुसार सिटिसी चिया भारत र अर्थोडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ। ‘चियाको व्यावसायिक सम्भावना बढ्दै गएको छ,’ पोखरेलले भने, ‘चियाको बर्सेनि निर्यात बढिरहेको छ।’

आव २०७२/७३ मा दुई अर्ब ४० करोड रूपैयाँको निर्यात भएको थियो। यसरी हेर्दा करिब एक दशकमा चिया निर्यात करिब दोब्बरले बढेको छ। नेपालको चिया विश्व बजारमा लोकप्रिय छ। यहाँबाट भारतसहित अमेरिका, अस्ट्रेलिया, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, नर्वे, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, स्विजरल्यान्ड, थाइल्यान्ड, बेलायतलगायत मुलुकमा निर्यात भएको छ।

नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित भएका हुन्। अहिले यहाँ उत्पादन भएको सिटिसी र अर्थोडक्स चिया विदेशी बजारमा निर्यात हुन्छ।

चियाबाट राम्रो आम्दानी हुने भएपछि किसान चिया खेतीमा आकर्षित भएका छन्। नेपालमा वार्षिक एक करोड ६४ लाख किलो चिया उत्पादन हुन्छ भने २० हजार हेक्टर क्षेत्रफलमा चिया रोपण भएको छ। चिया बगान, उद्योगमा करिब ६० हजारले रोजगारी पाएका छन्। चिया खेतीमा लगानी बढाए उत्पादन बढाउन सकिने बोर्डले जनाएको छ। अक्सन सेन्टर स्थापना, प्रयोगशाला निर्माण गर्नुपर्ने आवश्यकता छ।

नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको थियो। २०७९ सालमा चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको थियो। इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको थियो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि विश्व बजारमा नेपाली चियाको थप प्रचार भएको हो। नेपालमा उत्पादित अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’समेत तयार गरिएको छ। ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्डमा चिया निर्यात हुने गरेको छ।

पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ। पूर्वी पहाडी जिल्ला मात्र नभएर पछिल्ला वर्ष बागमती प्रदेश, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम लगायत प्रदेशमा पनि विस्तार भएको छ। सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडक्स चिया नेपाली उद्योगीमार्फत सिधै विदेश निर्यात हुन्छ। पहाडी क्षेत्रमा अर्थोडक्स चिया हुन्छ। नेपालीले दुध हालेर चिया खाने प्रचलन रहेकाले सिटिसी चिया उपभोग गर्छन्।

नेपालमा विशेषत तीन प्रजातिको चिया खेती गरिन्छ। आसामी, कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनका लागि प्रयोग हुन्छ भने चिनियाँ प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ। नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिखरताका लागि प्रसिद्ध छ।

चियाको सार्वजनिक खरिद–बिक्री हुने स्थान ‘अक्सन’ स्थापना नहुँदा स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय बजारमा किनबेचमा अझै कठिनाइ रहेको सरोकारवाला बताउँछन्। अक्सन मार्केट स्थापना गर्नुपर्ने व्यवसायीको माग छ।

बेलायतबाट सुरु भएको यो ‘अक्सन’ विधि भारतले सन् १९८० देखि नै प्रयोगमा ल्याए पनि नेपालमा अझै सञ्चालनमा आउन सकेको छैन। अक्सन भए नेपाली चियाको बजार अझ सुनिश्चित हुन्छ भने उचित मूल्य पाउँछ। चिया निर्यातमा भारतीयले विभिन्न समयमा दुःख दिने गरेको व्यवसायीले गुनासो गर्छन्। यहाँको चियाले दार्जिलिङको चियालाई विस्थापित गर्ने डरले विभिन्न बहाना बनाएर दुःख दिने गरेका छन्।

प्रकाशित: १० श्रावण २०८२ ०८:२९ शनिबार