अर्थ

सिंहदरबार मूल भवनमै एक अर्बको क्षति

‘स्टेट हल’ सँगै ऐतिहासिक सम्पदा पनि जले

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारको मूल भवनमा मात्र एक अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको छ।

सहरी विकास तथा भवन निर्माण विभाग तथा नेपाल इन्जिनियर्स एसोसिएसनको संयुक्त टोलीले तयार पारेको प्रतिवेदनमा एब अर्बभन्दा बढीको क्षति भएको विवरण उल्लेख छ। मूल भवन पुनर्निर्माण गर्न एक अर्बभन्दा बढी रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सहरी विकास मन्त्रालयमातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कामु आयोजना प्रमुख झपटसिंह विश्वकर्माका अनुसार सिंहदरबारको मूल भवनको पूर्वतिरको भन्दा पश्चिमतिरको भाग बढी जलेको छ।

‘दुवै भागलाई जोड्दा करिब एक अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘तर यसमा पुरातात्त्विक र सम्पदामा भएको क्षतिको मूल्याङ्कन भएको छैन। त्यो क्षतिको हिसाब नै भएको छैन।’

मूल भवन अंग्रेजी ‘सी’ आकारको छ। विश्वकर्माका अनुसार आन्दोलनपछि मूल भवन मात्र नभएर वरिपरिको भाग पनि मानिस जान नसक्ने गरी जोखिमपूर्ण बनेको छ। जहाँतहीँ जलेका सामग्री मात्र छन्। ‘मूल भवनभित्र जान इन्जिनियरलाई समेत जोखिमपूर्ण छ,’ विश्वकर्माले भने।

आन्दोलनका क्रममा एक सय २० वर्षभन्दा पुरानो मूल भवनभित्रको ‘स्टेट हल’ पुरै ध्वस्त भएको छ।

उक्त हल ऐतिहासिक र पुरातात्त्विक महत्तवको थियो। हलभित्र ऐतिहासिक र पुरातात्त्विक कला, कलात्मक पेन्टिङ तथा ऐतिहासिक किसिमबाट साजसज्जा गरिएको थियो।

राणाकालमै अतिविशिष्ट विदेशी पाहुना काठमाडौंमा आउँदा स्टेट हलमा स्वागत गरिन्थ्यो। विदेशी पाहुना नेपाल आउँदा उनीहरूले दिएका बहुमूल्य उपहारहरू उक्त हलमा सजाएर राख्ने गरिएको थियो। जेन-जी प्रदर्शनका क्रममा लगाइएको आगोले ती सामग्री पुरै जलेका छन्।

सहरी विकास मन्त्रालयका कर्मचारीहरूका अनुसार जेनजी प्रदर्शनमा सिंहदरबारभित्र सोफा, फर्निचर, गलैंचा, आइटी तथा बिजुली बत्ती प्रणाली, सुरक्षा प्रणाली, टेलिफोन, कम्प्युटर, सिसिटिभी तथा महत्तवपूर्ण र ऐतिहासिक कागजातहरू जलेका छन्।

विभिन्न देशसँग भएको सन्धिसम्झौताका प्रतिलिपिहरू पनि जलेको अनुमान उनीहरूले गरेका छन्। सिंहदरबार जल्दा काठ र काठबाट बनेका सामग्रीहरूमा ठुलो रकम बराबर नोक्सान भएको भवन विभागका कर्मचारीहरूको अनुमान छ।

विभागका एक कर्मचारी भन्छन्, ‘सिंहदबारमा ठुलो मात्रामा काठ जलेका छन्। विशेष किसिमबाट राखिएको काठ पनि जलेको छन्।’ मूल भवनमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय राखिएको थियो। यसैगरी, बैठक कक्ष पनि सजाएर राखिएको थियो।

सिंहदरबारको जलेको मूल भवनलाई हरियो पर्दाले छोपिएको छ। इन्जिनियरहरूले मूल भवनमा रातो स्टिकर टाँसेका छन्। रातो स्टिकर टाँस्नुको मतलब अब उक्त भवन अहिलेकै अवस्थामा प्रयोग गर्न सकिन्न।

यो भवनको पुनर्निर्माण कि प्रबलीकरण गर्ने भन्ने विषयमा इन्जिनियरहरू टुंगोमा पुगेका छैनन्। २०७२ सालको भूकम्पपछि भत्किएको सिंहदरबारलाई प्रबलीकरण गरिएको थियो।

त्यतिबेला एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको थियो।

प्रकाशित: २७ कार्तिक २०८२ २१:३२ बिहीबार