अर्थ

कालिगण्डकी करिडोर र कोरला नाकाको स्थलगत निरीक्षण, सुख्खा बन्दरगाह निर्माणलाई प्राथमिकता दिन जोड

प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा कालिगण्डकी करिडोरअन्तर्गत बाढीबाट क्षतिग्रस्त सडकखण्ड र नेपाल–चीन सीमास्थित कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ।

गत २०८३ असोज २५ गते आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीले कालिगण्डकी करिडोरमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न तथा सडक पुनर्निर्माण र स्तरोन्नतिको प्रगति अवलोकन गर्न समितिको टोली मुस्ताङ पुगेको हो। निरीक्षणका क्रममा सभापति गजुरेलले गण्डकी प्रदेशको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिका लागि कालिगण्डकी करिडोर मेरुदण्ड भएको उल्लेख गर्दै उनले कालिगण्डकि करिडोरको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया पूरा गरी तत्काल ठेक्का प्रक्रियामा जान आयोजना प्रमुखलाई निर्देशित गरे।

निरीक्षण टोलीमा कास्की क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उत्तम पौडेल, पूर्व प्रतिनिधि सभा सदस्य शिव नेपाली, मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल, कालिगण्डकी करिडोर आयोजना प्रमुख तेजस्वी शर्मा र कोरला भन्सार प्रमुख अनन्त तिमिल्सिना सहभागी थिए। त्यस्तै, सडक बोर्डका कार्यकारी सदस्य एवं नेपाल ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, सडक बोर्डका कार्यकारी सदस्य खड्ग बहादुर बिष्ट, महासंघका कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी (सरोज), मुस्ताङ जिल्लाका पाँच गाउँपालिका अन्तर्गत घरपझोङ गाउँपालिकाको प्रमुख  मोहन सिंह लालचन, थासाङ गाउँपालिकामा प्रदीप गौचन र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङ्जेन गुरुङ, लोमान्थाङ गाउँपालिकाको प्रमुखमा तासी नुर्बु गुरुङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको प्रमुखमा लोप्साङ छोम्पेल विष्ट गरि पाँचवटै स्थानीय तहका प्रमुखहरू तथा जिल्ला सुरक्षा निकायका अधिकारीहरूको समेत उपस्थिति थियो।

निरीक्षण टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाकाको समेत अवलोकन गरेको छ। सो क्रममा सभापति ज्युलाई सीमावर्ती क्षेत्रमा नेपालको आफ्नै जमिन उपलब्ध हुँदाहुँदै पनि आवश्यक भौतिक पूर्वाधारको अभावमा भन्सार कार्यालय सीमाभन्दा करिब १३ किलोमिटर तल स्थापना गर्नुपरेको अवस्थाप्रति सभापतिलाई स्थानीय पालिका प्रमुखहरूले ध्यानाकर्षण गराए।

कोरला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सुख्खा बन्दरगाह निर्माण अपरिहार्य रहेको बताउँदै उनले उक्त परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पहिले नै तयार भइसकेको जानकारी दिए। चीन सरकारले केरुङ, तातोपानी र कोरला नाकाको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुरूप कोरला सुख्खा बन्दरगाहको डीपीआर चीन सरकारलाई बुझाइसकिएको उनले स्पष्ट पारे। गजुरेलले नेपाल सुख्खा बन्दरगाह प्राधिकरणको कार्यकारी निर्देशक रहँदा उक्त डीपीआर चीन सरकारलाई बुझाउने प्रक्रियामा आफू स्वयं संलग्न रहेको स्मरण समेत गराए।

नाकामा पूर्वाधार अभावका कारण व्यवसायी तथा यात्रुहरूले सास्ती भोग्नुपरेको उल्लेख गर्दै सभापति गजुरेलले सुख्खा बन्दरगाह निर्माण र नाकाको पूर्वाधार विकासका लागि उद्योग मन्त्री दीपककुमार साह र परराष्ट्र मन्त्री शिशिर खनालको ध्यानाकर्षण गराए। सीमावर्ती क्षेत्रको सरकारी जग्गा सदुपयोग गरी पूर्वाधार निर्माण गर्न सके द्विपक्षीय व्यापार, पर्यटन र स्थानीय अर्थतन्त्रमा कायापलट हुने उनको भनाइ थियो।

निरीक्षणका क्रममा मुस्ताङका पाँचवटै स्थानीय तहका प्रमुखहरूले कालिगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशकै 'लाइफलाइन' भएको बताउँदै निर्माण तथा स्तरोन्नतिको काम समयमै सक्न संघीय सरकारसँग आग्रह गरे। करिडोर र नाकाको विकासले रोजगारी र स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने भन्दै उनीहरूले निर्माण कार्यमा स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

निरीक्षणका क्रममा उठाइएका विषय र सुझावहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी आवश्यक पहल गरिने सभापतिले बताए।

प्रकाशित: १० मंसिर २०८३ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App