नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको बताएको छ। निगमले विज्ञप्ति जारी गरेर मध्यपूर्वमा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या भएको र निरन्तर मूल्य वृद्धि भएपछि घाटामा गएको जनाएको हो।
जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको छ। तर, स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नु परेको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गर्दा यसको असरले आउँदा दिनमा निगमको घाटा अझ बढ्न सक्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन्। उनका अनुसार निगमको मूल्य स्थिरीकरण कोषमा हाल १९ अर्ब रुपैयाँ सञ्चित छ। मूल्य वृद्धिको घाटाको पूर्ति यही कोषबाट गर्दैआएको निगमले अब धेरै दिन धान्ने स्थिति भने दखिदैन।
निगमका अनुसार हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम छ। यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखिएको छ।
यसैबिच निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छ। निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले वृद्धि गर्दै १२७ रुपैयाँबाट २५१ रुपैयाँ पुर्याएको छ।
यस्तै, अन्तर्राष्ट्रिय उडान तर्फ हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले बढाएर १७८५ डलर पु¥याइएको छ भने पोखरा र भैरहवाका लागि पनि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ। यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे आगामी दिनमा थप आर्थिक दबाब पर्ने चेतावनी पनि निगमले दिएको छ।निगमले इन्धन आपूर्ति प्रणाली भने सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जानकारी दिँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।
भारत सरकारले समेत व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। हर्मुज नाका बन्द हुनुका साथै खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ, जसको असर भारतसहित विश्वभर परेको छ।
दिल्लीमा १९ केजी क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुले बढेर २,०७८ भारु पुगेको छ। त्यस्तै, ५ केजी एफटीएल सिलिन्डर ५१ भारुले महँगिएर ५४९ भारु कायम भएको छ। कोलकातामा पनि १९ केजी सिलिन्डरको मूल्य २१८ भारुले वृद्धि भएको छ। तर, घरेलु प्रयोजनका लागि प्रयोग हुने १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् ९१३ भारु कायम राखिएको छ।
यसैबीच, हवाई इन्धन (एटीएफ)को मूल्य पनि वृद्धि गरिएको छ। दिल्लीमा यसको मूल्य २,०७,३४१.२२ भारु प्रतिकिलो लिटर पुगेको छ भने अन्य महानगरहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने एटीएफको मूल्य पनि दोब्बरभन्दा बढीले बढेको छ। सरकारले भने देशभर इन्धन आपूर्ति सहज रहेको र पर्याप्त भण्डारण उपलब्ध रहेको जनाएको छ।
प्रकाशित: १८ चैत्र २०८२ १३:१७ बुधबार