अर्थ

एनपिएलको टिकटिङ अधिकार ८५ लाखमा ई-सेवालाई

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार डिजिटल वालेट इसेवा लिमिटेडले पाएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार बोलपत्र तथा खरिद प्रक्रिया पूरा गरी एनपिएलको मिडिया, ओटीटी तथा टिकटिङ अधिकार आधिकारिक रूपमा बाँडफाँट गरेको हो।

क्यानका अनुसार इसेवाले एनपिएलको टिकट बिक्री अधिकार ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ। सम्झौताअनुसार प्रतियोगिता अवधिभर टिकट बिक्रीबाट संकलन हुने कुल आम्दानीको ९५ प्रतिशत हिस्सा क्यानले पाउनेछ भने ५ प्रतिशत इसेवाको हुनेछ।

विश्वव्यापी डिजिटल प्रसारण (ओटीटी) तर्फको अधिकार नेट टिभी प्रा.लि.ले हात पारेको छ। नेट टिभीले १८ करोड ४ लाख रुपैयाँमा एनपिएलको विश्वव्यापी ओटीटी अधिकार खरिद गरेको क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार भने हिमालयन टेलिभिजनले सुरक्षित गरेको छ। हिमालयन टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँको बोलपत्र पेस गर्दै प्रत्यक्ष प्रसारणको अधिकार पाएको हो।

क्यानले मिडिया तथा टिकट बिक्रीका लागि आह्वान गरेको बोलपत्रमा सफल अधिकारधनी कम्पनीहरूसँग सम्झौता प्रक्रिया टुङ्ग्याएको जनाएको छ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म राजधानीमा आयोजना हुँदैछ।

प्रकाशित: २२ भाद्र २०८३ १८:४७ सोमबार