अर्थ

अब १० अर्बमा इन्धन डिपो

इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब १० अर्ब रुपैयाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण सुरु गरेको छ। भारतबाट बाराको अमलेखगन्जसम्म ल्याइएको पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गरेर त्यहीँ नै भण्डारण गृहसहितको डिपो निर्माण गर्न  लागिएको हो।

चितवनको राप्ती नगरपालिकामा अवस्थित लोथरमा ९१ हजार ९०० किलोलिटरको पेट्रोलियम पदार्थको डिपो निर्माण प्रक्रिया सुरु गरिएको आयोजना प्रमुख प्रदीप यादवले बताए।

निगमले जग्गा फिलिङ, कम्पाउन्ड वालका लागि खुला प्रतिस्पर्धाबाट ‘मोतीधन–डिएस जेभी’लाई ७९ करोड ५४ लाख रुपैयाँमा ठेक्का लगाएको छ।

ठेकेदार कम्पनीलाई १२ महिनाको समयसीमा दिइएको छ। जग्गाको पूर्वतयारी सकेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई हस्तान्तरण गरे पनि आइओसीको प्राविधिक सहयोगमा योजना अघि बढ्ने छ। आइओसीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको र ग्लोबल टेन्डर प्रक्रिया अघि बढाएको निगमले जनाएको छ।

डिपो लोथरस्थित २३ बिघा १२ कट्ठा क्षेत्रफलमा फैलिएको छ। ‘पेट्रोल, डिजेल, मट्टीतेल भण्डारणसहित नयाँ अत्याधुनिक डिपो निर्माण सुरु भएको छ,’ आयोजना प्रमुख यादवले भने, ‘डिपो निर्माणपछि इन्धन आपूर्तिमा सहजता आउने छ।’

लोथरमा निर्माण सुरु गरिएको भण्डारण गृहसहितको ग्रिनफिल्ड टर्मिनलको निर्माण लागत करिब नौ अर्ब ८० करोड रुपैयाँ रहेको छ। डिपोमा पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन भण्डारण गर्ने २० वटा ट्यांकीसमेत निर्माण गर्ने योजना छ। त्यसैगरी आगालागीको सम्भावित दुर्घटनाबाट जोगाउन १७ हजार ४०० किलोलिटर क्षमताका पानी भण्डारण ट्यांकी पनि निर्माण गरिने छ।

डिपोमा पेट्रोल ३३ हजार किलोलिटर, डिजेल ४६ हजार ५०० किलोलिटर, मट्टीतेल एक हजार ६०० किलोलिटर र हवाई इन्धन १० हजार ८०० किलोलिटर भण्डारण गर्न मिल्ने ट्यांकी निर्माण गरिने छ। पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताको तीन वटा, डिजेलका लागि १५ हजार ५०० किलोलिटरका तीन वटा, मट्टीतेलका लागि ८०० किलोलिटरका दुई वटा र हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटरका तीन वटा स्टोरेज ट्यांकी निर्माण गरिने निगमले जनाएको छ।

त्यसैगरी डिपोमा २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्यांक निर्माण गर्ने योजना छ। ट्रान्समिक्स ट्यांकमा एउटै पाइपलाइनमा आएका दुई थरी पेट्रोलियमको मिश्रणलाई राखेर पछि शुद्धीकरण गर्ने गरिन्छ।

त्यस्तै पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनका ५० किलोलिटर क्षमताका चार वटा अन्डरग्राउन्ड रिजर्भ ट्यांकीसमेत निर्माण गर्ने तयारी छ।

डिपोमा इन्धन भण्डारण गरेपछि बिक्री वितरण गन सुविधा सम्पन्न टिएलएफ सेटसहितका अत्याधुनिक संरचना निर्माण हुने छन्। यो डिपो मुलुककै सबैभन्दा ठुलो इन्धन भण्डारण गृह हो। यसले नेपालमा पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्ति सुरक्षित बनाउन र भण्डारण क्षमता विस्तारमा सघाउ पुग्ने छ।

नेपाल–भारत सरकारबिचको समझदारी अनुसार अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार र लोथरमा आधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माण अघि बढेको हो।

चितवनको लोथरमा बन्ने विशाल भण्डारण गृहले काठमाडौं उपत्यका, पोखरालगायत आसपासका क्षेत्रमा इन्धन आपूर्ति व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। राजधानी र पोखरा मुलुकका प्रमुख इन्धन खपत हुने क्षेत्र भएकाले चितवनलाई इन्धन भण्डारण तथा वितरणको रणनीतिक केन्द्रका रूपमा विकास गर्न लागिएको हो। दीर्घकालीन रूपमा पेट्रोलियम पदार्थको बिक्री–वितरण र व्यवस्थापनलाई व्यवस्थित गर्न  लोथर परियोजना महत्त्वपूर्ण हुने निगमको विश्वास छ।

परियोजनाअन्तर्गत भारतको मोतिहारीबाट बाराको अमलेखगन्ज ल्याएको पाइपलाइन चितवनको लोथरसम्म विस्तार गरिने छ। पाइपलाइन निर्माणको अनुमानित चार अर्ब २८ करोड ८० लाख रुपैयाँ लागत आइओसीले अनुदानका रूपमा बहोर्ने छ।

त्यस्तै लोथरमा निर्माण हुने भण्डारण गृहको खर्च भने निगम आफैंले बेहोर्ने छ। निगमले लोथरमा पहिलो चरणअन्तर्गत निर्माणस्थल तयार पार्ने काम सुरु गरेको छ। प्रारम्भिक चरणमा आयोजनाको जग्गा सम्माउने काम सुरु भएको छ। जग्गा सम्याउने, आवश्यकताअनुसार तीनदेखि १२ फिटसम्म माटो भर्ने, रहेको क्यानल अन्यत्र सार्ने तथा सुरक्षाका लागि चारैतिर ११ फिट अग्लो पक्की पर्खाल निर्माण गर्ने काम सुरु भएको छ।

अमलेखगन्जदेखि लोथरसम्म निर्माण हुने पाइपलाइन १०.७५ इन्च व्यासको हुने छ। यसबाट प्रतिघण्टा २७३ किलोलिटरका दरले पेट्रोलियम पदार्थ ढुवानी गर्न सकिने निगमले जनाएको छ। पाइपलाइनमा नियमित रूपमा करिब तीन हजार २०० किलोलिटर इन्धन ढुवानी हुने छ। यस हिसाबले त्यसमा वार्षिक करिब २० लाख टनसम्म इन्धन ढुवानी हुन सक्छ।

पाइपलाइन निर्माणपछि अमलेखगन्जबाट ट्यांकरमार्फत चितवनसम्म इन्धन ढुवानी गर्नुपर्ने निर्भरता घट्ने छ। चितवनबाट व्यवस्थित रूपमा इन्धन वितरण गरिने छ। पाइपलाइन निर्माणबाट ढुवानी लागत बचत हुनुका साथै चुहावट, चोरी र मिसावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अमलेखगन्ज–लोथर परियोजनासँगै भारतले सिलगुढीदेखि झापासम्म अर्को पेट्रोलियम पाइपलाइन निर्माणमा पनि अनुदान दिएको छ। प्रस्तावित सिलगुढी–झापा पाइपलाइन करिब ५० किलोमिटर लामो हुने छ, जसमध्ये करिब ३५ किलोमिटर भारततर्फ र १५ किलोमिटर नेपालतर्फ पर्ने छ। यसले पूर्वी नेपाल विशेष गरी कोसी प्रदेशको इन्धन माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतको अनुदानमा अमलेखगन्ज–लोथर र सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण गर्ने समझदारी भएको थियो। नेपाल आयल निगम र आइओसीबिचको पछिल्लो सम्झौतासँगै यी परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्।

प्रकाशित: ५ भाद्र २०८३ ०९:१८ शुक्रबार