अर्थ

शिक्षा स्वास्थ्यमा लगाइएको कर खारेजको सूचना राजपत्रमा प्रकाशित

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क पूर्ण रूपमा हटाएको छ। अर्थ मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त शुल्क खारेज भएको औपचारिक जानकारी दिएको हो।

यसअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य समता शुल्क हटाउने घोषणा गरेका थिए। राजपत्रमा सूचना प्रकाशित भएसँगै उक्त निर्णय कार्यान्वयनमा आएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार हालसम्म असुल गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्नुपर्नेछ। तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिएमा उक्त रकम संघीय सञ्चित कोषमा दाखिला गरिने अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा ३/३ प्रतिशत समता शुल्क लगाउने व्यवस्था गरेको थियो। तर, विद्यार्थी, अभिभावक, स्वास्थ्य क्षेत्र, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाबाट व्यापक विरोध भएपछि सरकारले आफ्नो निर्णय सच्याउँदै उक्त शुल्क पूर्ण रूपमा खारेज गरेको हो।

प्रकाशित: १४ श्रावण २०८३ १८:२८ बिहीबार