धनगढीको घनाबस्तीबिचमा रहेको नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरण गर्न जग्गा खोजीकार्यको दुई वर्ष बितिसक्दा समेत जग्गा प्राप्ति हुन सकेको छैन ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित हालको डिपो साँघुरो भएकाले नयाँ ठाउँमा ठुलो भण्डारण क्षमतासहतिको डिपो स्थानान्तरणका लागि हालसम्म पनि जग्गा प्राप्ति हुन नसकेको हो । नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालय सुदूरपश्चिमका कार्यालय प्रमुख हरिदत्त जोशीका अनुसार डिपो स्थानान्तरणका लागि धेरै पहिलादेखि नै जग्गा खोजिकार्य जारी रहे पनि हालसम्म जग्गा टुंगो लाग्न सकेको छैन । ‘डिपो निर्माणका लागि धेरै ठाउँमा जग्गा खोज्ने काम भइरहेको छ तर प्रगति अहिलेसम्म केही भएको छैन’, उनले भने ।
बस्तीबिचमा रहेको डिपोले बस्ती नै जोखिममा रहेको भन्दै स्थानीयको दबाबपछि निगमले धनगढीको डिपो स्थानान्तरण गर्ने योजना अगाडि बढाएको थियो । निगमले स्थानीयको दबाबपछि नयाँ डिपो बनाउन कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा जग्गा खोजी कार्यलाई अगाडि बढाएको थियो ।
जग्गा खोजी कार्यको बेला कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको राष्ट्रिय आवास कम्पनीले २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाएको थियो । सो जग्गा बिक्री गर्न कम्पनी तयार भए पनि बस्तीको बिचमा भएकाले प्रज्वलनशील पदार्थको कारोबारले स्थानीयलाई असर पर्ने भन्दै नगरपालिकाले असहमति जनाएको थियो । नगरपालिकाको असहमतिपछि निगमले अब सुदूरपश्चिमका नौ वटै जिल्लाको केन्द्रका रूपमा रहेको अत्तरियाबाट २० किलोमिटरको वरिपरि नै जग्गा खोजिकार्य भइरहेको जनाएको छ ।
कार्यालय प्रमुख जोशीका अनुसार केन्द्रीय कार्यालयमा डिपो स्थान्तरणका लागि पत्र पठाएको भए पनि हालसम्म कुनै निर्देशन प्राप्त भएको छैन । अहिले केन्द्रीयस्तरबाटै जग्गा खोजीकार्यको काम भइरहेकाले पछिल्लो अपडेट आफूलाई प्राप्त नभएको उनले बताए । जग्गा उपलब्ध हुनासाथ डिपो स्थान्तरणको प्रक्रिया अगाडि बढाइने उनले बताए । डिपो स्थानान्तरणका लागि २०÷२२ बिघासम्म जग्गा आवश्यक पर्ने उनको भनाइ छ ।
२०३४ सालमा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामा कम क्षेत्रफलमा सञ्चालनमा रहेको छ । डेढ बिघा जमिनभित्र रहेकाले साँघुरो भई बढ्दो माग धान्न मुस्किल बन्दै गएकाले नयाँ ठाउँमा ठुलो क्षमताको भण्डारणगृह बनाउने योजना अघि सारिएको थियो ।
धनगढी डिपोले प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । हाल धनगढी डिपोको भण्डारण क्षमता पेट्रोल, डिजेल, मट्टितेल र आगो निभाउने पानी ट्यांकी गरी कुल दुई हजार आठ सय ९० किलोलिटरको छ । जसमा पेट्रोल भण्डारण क्षमता आठ सय ३० किलोलिटर, डिजेल एक हजार पाँच सय ९० किलोलिटर, मट्टितेल ७० किलोलिटर र फायर फाइटिङ ट्यांकी चार सय किलोलिटर क्षमताको छ ।
सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृहनिर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमता अभिवृद्धिका काम अघि बढेका छन् । अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिममा एक साताको माग पनि धान्न नसक्ने बताइएको छ ।
अब निर्माण गरिने स्मार्ट डिपोमा पेट्रोल एक हजार आठ सय किलोलिटर, डिजेल छ हजार छ सय किलोलिटर, मट्टितेल पाँच किलोलिटर र पानी ट्यांकी तीन हजार किलोलिटर भण्डारण क्षमताको हुनेछ । साथै जग्गा अधिग्रहण, डिपिआर निर्माण र डिपो निर्माणका लागि साढे तीन अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । भारतको बन्थरास्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोबाट कैलालीको गौरीफन्टा नाका हुँदै धनगढी डिपोमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ ।
प्रकाशित: ५ पुस २०८२ १९:५४ शनिबार