यो पटकको निर्वाचनमा आन्तरिक तथा बाह्य सबैखाले हवाई उडान संचालन गर्न निर्वाचन आयोगले अनुमति दिएको छ। निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडानको व्यवस्था मिलाउने वातावरण मिलाउन भनेको छ।
यसअघिका निर्वाचनमा अन्तर्राष्ट्रिय उडान संचालन हुँदै आएपनि आन्तरिक उडान भने संचालन हुने गरेका थिएनन। तर, यो पटक आन्तरिक उडान पनि संचालन गर्न आयोगले अनुरोध गरेको छ। आयोगले आन्तरिक उडान संचालन गर्न भनेपनि हवाई कम्पनिले भने यात्रु अभाव र व्यवस्थापनमा अहसज हुने भन्दै निर्वाचनका दिनका लागि कुनैपनि गन्तव्यमा आन्तरिक उडान तालिका राखेका छैनन।
निर्वाचनको सुरक्षा तथा मतदानको प्रक्रियामा आवश्यक सहजीकरणका सम्बन्धमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना अनुसार मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत संचालनको व्यवस्था मिलाउन भनेको थियो।
अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर, बसोबास गर्ने होटलसम्म र घर तथा बसोबास गरेको होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन भनेको छ।
‘आन्तरिक उडानका लागि आयोगले गृह मन्त्रालयमार्फत व्यवस्थापन गर्न अनुरोध गरेको छ। हवाई कम्पनिले उडान संचालन गरेको खण्डमा यात्रुलाई आउजाउमा सहजता तुल्याउन विमानस्थलदेखि होटलसम्म र होटलदेखि विमानस्थलसम्म सटल बस संचालन गराउन सकिन्छ,’ पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले भने, ‘उडान संचालन भएको अवस्थामा यात्रुलाई आवश्यक परेमा सटल बसको सेवा दिन सकिन्छ। तर, उडान संचालनका लागि हवाई कम्पनि तयार हुनुपर्छ।’
आन्तरिक यात्रुको आउजाउ खासै नहुने भएकोले उडानबारे अझै निश्चित नभएको पनि उनले बताए। उडान भए वा नभएपनि पर्यटकीय गन्तव्यमा रहेका पाहुनालाई खानपिन र बसोबासमा कुनैपनि समस्या नभएको पनि उनले बताए।
‘हिडेर पुगिने गन्तव्यसम्म आउजाउ गर्न पनि समस्या छैन। खानपिन र बसोबासमा पनि अप्ठेरो छैन। पर्यटकीय गन्तव्यका होटल र रेस्टुरेन्ट सबै खुला हुनेछन,’ उनले भने, ‘पाहुनाको घुमफिर र दृष्यावलोकन रोकिन्न।’
केहीदिन अघिसम्म निर्वाचनका दिन आन्तरिक उडान संचालन नहुने भनिएकोले हवाई कम्पनिले पनि त्यही अनुसार बुकिङ लिएका थिएनन। त्यसअघि भएको अग्रिम बुकिङ पनि अघिल्लो वा पछिल्लो दिनका लागि सारिएको थियो। तर, फेरि अहिले उडान संचालन गर्न भनिएको छ। उडान संचालनबारे उत्पन्न द्विविधाका कारण हवाई कम्पनिले पनि निर्वाचनका दिन आन्तरिक उडानको तालिका राखेका छैनन।
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्ताैलाले भने, ‘यात्रुले पनि निर्वाचनका दिनका लागि गरेको अग्रिम बुकिङ अघिल्लो वा पछिल्लो दिनका लागि सारेका थिए। त्यो दिनका लागि उडान नहुने भन्ने सुरुवाती जानकारी भयो। त्यसपछि उडान तालिका राखिएको छैन।’ अहिले आन्तरिक उडान राख्न भनिएपनि यात्रु नभएको र व्यवस्थापन गर्न पनि समस्या भएकोले कुनैपनि रुटमा निर्वाचनका दिन उडान नहुने उनले बताए।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द कर्णले पनि निर्वाचनका दिन आन्तरिक तर्फका कुनैपनि उडान नहुने बताए। ‘चुनावका दिन विमानस्थलसम्म आउजाउ गर्न सहज छैन। उडान भएपनि यात्रुलाई आउजाउ गर्न सहज हुँदैन। त्यही भएर बुद्ध एयरले निर्वाचनका दिनका लागि कुनैपनि रुटमा उडान तालिका राखेको छैन। त्यो दिन बुद्धको उडान छैन।’ उनले भने, ‘यात्रु पनि छैननm भएपनि पुरै लोड हुँदेन। उडान नहुँदा बिरामी वा अत्यावश्यक कामले आउजाउ गर्नुपर्ने यात्रुलाई समस्या थपिन्छ।’
पर्यटन व्यावसायीले भने निर्वाचनका दिन पाहुनालाई उनीहरुले चाहेको गन्तव्यसम्म आउजाउ गर्नका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको अनुमति पत्रका आधारमा सेवा दिन सकिने बताएका छन। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी अध्यक्ष किशोर दाहालले हवाई उडान भएमा पाहुनालाई सटल बसमार्फत लेकसाइडका होटलसम्म आउजाउ गराउन सकिने व्यवस्था मिलाएको बताउँछन।
‘विमानस्थलदेखि होटलसम्म आउजाउ गर्न कुनै समस्या हुँदैन । पर्यटकको आउजाउ रोकिन्न। तर, उडान हुने वा नहुने भन्ने निश्चित भएन,’ उनले भने,‘सुरुमा उडान नहुने भनिएको थियो, अहिले फेरि उडान खुलाउने भनिएको छ, यात्रु उपलब्धतामा उडान हुनेछन।’ स्थानीय प्रशासनले पास दिने र त्यसले पर्यटकीय गन्तव्यसम्म पर्यटकका लागि आउजाउ गराउने उनले बताए। पोखरा–काठमाडौं– पोखरा रुटमा अहिले बुद्ध, यती, श्री एयरलाइन्सले मात्र नियमित उडान गरिरहेका छन। पोखराबाट काठमाडौं, भैरहवा, नेपालगञ्ज र भरतपुरसम्म अहिले नियमित उडान हुने गरेका छन।
प्रकाशित: १४ फाल्गुन २०८२ १८:०७ बिहीबार