लगातार चार कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ। बजारमा खरिदकर्ताको सक्रियता बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।
मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ०.७९ अंक, फ्लोट इन्डेक्स ०.३२ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले वृद्धि भएको छ।
मंगलबार ३८३ वटा कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर ५३ हजार ८५४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
कारोबार रकम बढाउन ऋणपत्र (डिबेञ्चर) को उल्लेख्य योगदान रहेको छ। कारोबार रकमका आधारमा शीर्ष १० मध्ये नौ वटा ऋणपत्र परेका छन्। सबैभन्दा बढी १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यसपछि १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढी, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को ३७ करोड रुपैयाँभन्दा बढी तथा एभरेष्ट बैंक डिबेञ्चरको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
मूल्य वृद्धितर्फ ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ सबैभन्दा बढी १०.२२ प्रतिशतले बढेको छ। सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ करिब १० प्रतिशतले उकालो लाग्दा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
यता ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को मूल्य सबैभन्दा बढी ९.६८ प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये १२ उपसमूह हरियालीमा बन्द भएका छन्। व्यापार उपसमूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह भने ०.१८ प्रतिशतले घटेर राताम्मे बनेको छ।
प्रकाशित: ३० असार २०८३ १५:१५ मंगलबार