कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.४१ अंक, फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले बढेपछि समग्र नेप्से बढेको हो।
आइतबार कारोबार रकम पनि झण्डै पौने २ अर्बले बढेको छ। आइतबार ३१९ स्टकको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँबराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
आइतबार सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.७६ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन बैंक लिमिटेडको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको संस्थापक शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको करिब साढे ३४ करोड र बुटवल पावर कम्पनीको २५ करोडभन्दा बढीको कारोबार भयो।
१३ उपसमूहमध्ये आइतबार १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशतले घटेको छ।
प्रकाशित: १६ कार्तिक २०८२ १५:२९ आइतबार