अर्थ

१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार

लगातार दुई दिन ओरालो लागेको सेयर बजार मंगलबार भने सम्हालिएको छ।

अघिल्ला दुई कारोबार दिनमा ११९ अंकले घटेको नेप्से परिसूचक मंगलबार १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन सोमबार करिब १२ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर १ लाख ३७ हजार ८५७ पटक खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको छ। बाँकी ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बजारका धेरैजसो समूहगत सूचकमा हरियाली छाएको छ। १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटाको मात्रै घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै १.९४ प्रतिशतले उकालो लागेको छ।

त्यसैगरी, फाइनान्स १.१२ प्रतिशत र होटल तथा पर्यटन उपसमूह १.०० प्रतिशतले बढेका छन्। विकास बैंक ०.९०, बैंकिङ र निर्जीवन बीमा ०.७६, हाइड्रोपावर ०.७५, व्यापार ०.७४, लगानी ०.५६, जीवन बीमा ०.५२ र माइक्रोफाइनान्स उपसमूह ०.५१ प्रतिशतले बढेका छन्।

यता, अन्य उपसमूह ०.५५ प्रतिशतले घट्दा म्युचुअल फन्डको सूचकमा पनि सामान्य गिरावट आएको छ।

मंगलबार आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको हो।

अन्य केही स्टकको मूल्य वृद्धिदर पनि ४ प्रतिशतभन्दा माथि रहेको छ। अर्कोतर्फ, कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

यस बैंकको सेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ। त्यस्तै, रिडी पावरको ३.२१ र धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। यस कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यसैगरी, अपी पावर कम्पनीको करिब ४१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। धेरै रकमको कारोबार हुने अन्य अग्रणी कम्पनीमा एसवाई प्यानल र कुमारी बैंक पनि रहेका छन्।

प्रकाशित: १७ चैत्र २०८२ १५:२९ मंगलबार